धरान: वृद्धवृद्धालाई पौष्टिक आहार वितरण कार्य सकेपछि धरानको १८ न. वडा कार्यलयले बालबालिकाहरुलाई पौष्टिक आहार पनि वितरण सुरु गरेको छ ।
वडाले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि बुधबारदेखि ३ बर्ष मुनिका बालबालिकाहरुलाई पौष्टिक आहार वितरण सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि महिला संजाल धरानकी अध्यक्ष सविता राई र वडाध्यक्ष प्रविण राईको हातबाट देविथान निवासी अढाई वर्षकी वालिकालाई पौष्टिक आहार प्रदान गरेर वितरण कार्य सुरु गरिएको थियो ।
वडाले वालवालिकाको घर घरमा नै पुगेर पौष्टिक आहार वितरण गरेको छ । वडाले आफ्नै कोरोना राहत कोषबाट पौष्टिक आहार वितरण गरेको वडाध्यक्ष प्रविण राईले जानकारी दिए । उनका अनुसार बालबाकिलाहरुलाई एक दिन बिराएर नियमितरुपमा लकडाउन अवधिभर पौष्टिक आहार वितरण कार्य गरिनेछ । एक पटकमा करिव १२ हजार रुपैया बराबरको पौष्टिक आहार वितरण हुने पनि उनले बताए । यस अघि सोमवार मात्रै वडाले १ सय ५७ जना वृद्धवृद्धालाई करिव दुई लाख रुपैया वरावरको पौष्टिक आहार स्वरुप हर्लिक्स, १ केजी अनार र सुगर फ्रि विस्कुट वितरण गरिसकेको वडा सदस्य तथा वडाका महिला तथा वालवालिका संयोजक जामुना त्रिखत्री मोक्तानले जानकारी दिइन् ।
पौष्टिक आहार वितरण कार्यसंगै वडाले शारीरिक तन्दुरुस्तीको लागि ४५ वर्ष माथिका आफ्नो वडावासीहरुलाई योगा अभ्यास समेत गराउने भएको छ । कोरोना भाइरस सँग लडनको लागि उच्च मनोवलसँगै शारीरिक अभ्यासले रोगहरुसँग लड्न शरीरमा प्रतिरोधात्मक क्षमता पनि अभिवृद्धि हुने हुनाले योग अभ्यास सुरु गराउन लागिएको वडा कार्यलयले जनाएको छ । योग अभ्यास गर्नेहरुको लगत संकलन पछि वडाको वाल उद्यानमा योग गुरुद्धारा अभ्यास गराउने वडाध्यक्ष राईले बताए । पौष्टिक आहार वितरण कार्यमा वडा सदस्य दिलु राई, टंक गुरुङ्ग, जगदिप सुनुवार, स्वस्थ्य स्वंमसेविका, टिएलओ प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।