धरान: धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यलयले आफ्नो वडाका ज्येष्ठ नागरिक र शारीरिक अपाङ्गगता (भिन्न क्षमता) भएकाहरुलाई पौष्टिक आहार एवं फलफुल वितरण गरेको छ ।
वडा कार्यालयले १ सय ५७ जना वृद्धवृद्धा र भिन्न क्षमता भएका थप २२ जनालाई पौष्टिक आहार तथा फलफुल वितरण गरेको हो । वडाले पौष्टिक आहार स्वरुप हर्लिक्स, एक केजी अनार र सुगर फ्रि विस्कुट प्रदान गरिएको अध्यक्ष प्रविण राईले जानकारी दिए । ज्येष्ठ नागरिकहरुको निवासमा नै गएर पौष्टिक आहार वितरण गरिएको थियो । करिब २ लाख वरावरको पौष्टिक आहार वितरण गरिएको अध्यक्ष राईले बताए ।
लकडाउनका कारण घर वाहिर निस्किन नपाईरहेको बेला मनोवल वढाउन पनि घरमा नै गएर वितरण गरिएको वडाध्यक्ष राईले बताए । यस कार्यले उनीहरुको सम्मान र भेटघाट दुवै भएको उनको भनाई छ । बुधवारदेखि वडाका बालबालिकाहरुलाई पनि पौष्टिक आहार वितरण गरिने वडा कार्यालयले जनाएको छ । बालबालिकाहरुको लागि १ लिटर दुध र सर्वोत्तम पिठो वितरण गरिने वडाल जनाएको छ । वडाका ३ वर्ष मुनिका ५९ जना बालबालिकाहरुलाई एक दिन विराएर दुध वितरण गरिने वडाध्यक्ष राईले बताए ।
ज्येष्ठ नागरिकहरुलाई सोमबार पौष्टिक आहार वितरण कार्यमा वडा सदस्य जमुना त्रिखत्री मोक्तान, दिलु राई, टंक गुरुङ्ग, जगदिप सुनुवार, स्वस्थ्य स्वंमसेविका, टिएलओ प्रतिनिधि लगायत पनि सहभागी थिए । पौष्टिक आहार वडाले आप्mनै कोरोना राहत कोषबाट वितरण गरेको हो । वडाले पाँच पटकसम्म राहत वितरण कार्य गरिसकेको छ । त्यसमध्ये दुई पटक आप्mनै राहत कोषबाट वडाले राहत वितरण गरेको हो ।
यसअघि, लकडाउनको कारण समस्यमा परेका वीपी हस्पिटलका विरामी कुरुवाहरुलाई कोषबाट नै दैनिक विहान वेलुकी ६६ दिन करिव ४५ हजार छाक खाना पनि १८ नम्बर वडा कार्यालयले खुवाएको थियो । हाल भने वीपी प्रतिष्ठानले ओपिडी सञ्चालन गरेको र समन्वय गरेर खाना खुवाउने होटल चलेपछि वडा कार्यालयले खाना खुवाउने अभियान रोकेको छ । कोषवाट नै कोरोना जोखिम कम गर्न मास्क, सेनिटाइजर र पञ्जा समेत आवश्यक परेका नागरिकहरुलाई वडाले वितरण गर्दै आइरहेको छ ।