विराटनगर: प्रदेश १ मा आज १४ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या २ सय ९६ पुगेको छ ।
आज मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण थपिएको छ । कुल संक्रमितमध्ये १ सय २४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संक्रमित मध्ये अधिकांशमा कोरोनाको लक्षण नदेखिएको बताएको छ । कोरोना संक्रमति देखिएका मध्ये पनि केहीमा सामान्य लक्षण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र पारिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । प्रदेश १ का १२ वटा जिल्लाका ८१ वटा स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको उनले जानकारी दिए । उनका अनुसार ८१ वटा स्थानीय तहमा १ सय १२ वटा कन्ट्याक्ट ट्रेसिङ टिमहरु गठन भई काम भईरहेकोछ । ‘हालसम्म १ सय ७० वटा केसको इन्भेष्टिगेसन र ट्रेसिङको काम भएको छ,’उनले भने ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा विभिन्न जिल्लामा संक्रमण देखिएका २ सय ५३ जना विदेशबाट आएको उनले बताए । विदेशबाट आएकाहरुको सम्पर्कबाट ३० जनामा संक्रमण भएको पाईएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङ फोकल टिमका संयोजक समेत रहेका डा. मेहताले प्रदेश १ मा युवा समूह २०–३० वर्षका सवैभन्दा बढी १ सय १६ जना संक्रमित भएको बताए । उनका अनुसार ६० वर्ष माथिका १ र बालबालिका २ जना रहेका छन् ।
कोरोना संक्रमण देखिएका मध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाईराइड र १ गर्भवती महिला भएको बताईएको छ । प्रदेश १ मा ३ वटा आइसोलेशन अस्पतालहरुमध्ये विराटनगरमा २२ जना, धरानमा ५५ जना र सुन्दरहरैचामा ८१ जनाको अहिले उपचार भईरहेको छ । आज संक्रमण देखिएकाहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचार सवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. मेहताले बताए ।