धरान: कुवेतबाट आएका १३ जना महिलालाई धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई बराहक्षेत्रको चतरास्थित प्रदेश सरकारको होल्डिङ केन्द्रबाट दुई चरणमा एन्फा क्वारेन्टाइनमा ल्याइएको हो । पहिलो लटमा १० जना र दोस्रो लटमा हिजो ३ जना महिला क्वारेन्टाइनमा आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘कुवेतबाट फर्किएर चतराको होल्डिङ एरियामा रहेका महिलाहरुलाई दुई पटक गरेर एन्फा क्वारेन्टाइनमा ल्याइएको छ,’उनले भने ।
पहिलो लटमा ३ दिन अघि कुवेतबाट आएका महिलाहरु क्वारेन्टाइनमा आएका थिए । ती सबै धरान उपमहानगरपालिकाका विभिन्न वडाका महिलाहरु हुन् । हिजो थप ३ जना महिला आएका छन् । कुवेतबाट नै आएका उनीहरु २ जना खोटाङका हुन् भने एक जना भोजपुर जिल्लाका हुन् । क्वारेन्टाइनबाट ७ दिन नाघेका र पिसिआर रिपोर्ट नेगेटिभ आएका १९ जनालाई हिजो घर पठाइएको क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिइन् । ‘अहिले यहाँको क्वारेन्टाइनमा जम्मा ३७ जना हुनुहुन्छ,’उनले भनिन् ।
विदेशबाट फर्किएकाहरु सिधै घरपरिवार तथा समाजमा पुग्दा संक्रमणको जोखिम हुने भएकोले धरान उपमहानगरपालिकाले एन्फा एकेडेमीलाई क्वारेन्टाइनमा परिणत गरेको हो । यहाँ अधिकांश भारतबाट फर्किएकाहरु राखिएका छन् । उनीहरुलाई एक सातासम्म राखेर पिसिआर जाँच गरेपछि रिपोर्ट नेगेटिभ आएमा घर पठाइने गरिएको छ ।