धरान: संखुवासभाको मकालु गाउँपालिका २ र ३ को सिमाना पर्ने दोभानको ओयाङ भन्ने ठाउँमा पहिरोले अरुण नदीको केही भाग थुनिए पनि आत्तिनुपर्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेका अनुसार पहिरो गएपछि लेदोको कारण नदीको पानी जमेर ताल जस्तै बनेको थियो । तर, अहिले विस्तारै नदीको वहाव आफै खोलिदै गएको र आत्तिनुपर्ने अवस्था नभएको घिमिरेले बताए । उक्त क्षेत्रमा नेपाल प्रहरी र सेनाको टोली पुगिसकेको पनि घिमिरेले जानकारी दिए ।

नदी थुनिएको क्षेत्रमा कुनै ठुलो एवं मानवीय क्षति भएको छैन । घटनास्थल नजिकैको २ घरलाई सुरक्षितरुपमा स्थानान्तरण गरिएको पनि उनले बताए । ‘लेदोले गर्दा पानी जमेर ताल जस्तो भएको रहेछ । अहिले नदीको वहाब आफै खोलिदैछ,’उनले भने,‘आत्तिनुपर्ने अवस्था छैन । तर, थप बर्षा र पहिरो गयो भने मात्र समस्या हुन्छ । सतर्क चै हुनुपर्छ ।’