धरान: धरान ७ बाट शुक्रबार साँझ पक्राउ परेका लागुऔषधको कारोबारीसँग एक हतियार पनि वरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार धरान ७ पानमारा बस स्टेण्ड नजिक डेरा गरी बस्ने किशन श्रेष्ठलाई प्रहरीले साँझ साढे ६ बजे ठुलो परिमाणमा लागुऔषधसहित पक्राउ गरेको थियो । उनको कोठाबाट एक थान एयर गन र १ लाख ९२ हजार नगद पनि वरामद भएको डिएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठ लागुऔषधको कारोबारी हुन् । कारोबार गर्ने क्रममा धम्काउन, तर्साउनको लागि बन्दुक प्रयोग गर्ने गरेको हुनसक्ने डिएसपी बस्नेतको अनुमान छ ।
डिएसपी बस्नेतका अनुसार श्रेष्ठले उक्त बन्दुक कहाँबाट लिएको हो भन्ने खुलाएका छै्रनन् । श्रेष्ठले मेलामा बेलुन फुटाउने गन हो भनेर मात्र वयान दिएका छन् । 'एयर गन हो, अहिलेसम्म मेलामा बेलुन फुटाउने हो मात्र भनेको छ, थप केही खुलाएको छैन,'डिएसपी बस्नेतले भने,'लागुऔषध कारोबारी भएकेले लागुऔषध बेच्दा तर्साउन प्रयोग गर्ने हो कि भन्ने लागेको छ । यो सँग हतियार पनि छ है भन्ने त्रास देखाउन हुनसक्छ । अनुसन्धान नै हुदैछ ।'
प्रहरीका अनुसार श्रेष्ठको डेरामा खान तलासी गर्दा झोलाबाट नाइट्रोसन २६० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ५५२ क्याप्सुल र डाइलेक्स डिसि १०० एमएलको ६ बोतल वरामद भएको छ । यस्तै, एक थान बन्दुक र १ लाख ९२ हजार पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।