धरान: पछिल्लो २४ घण्टामा नेपालमा २३२ जना कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ४ हजार ५० नमुना परीक्षण भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । उनीहरुमध्ये ६ हजार ४ सय १५ जना डिस्चार्ज भएका छन् ।

यसैगरि, कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । गोर्खाको पालुंगटारका ४४ बर्षका एक पुरुषको असार २० गते बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको डा.गौतमले जानकारी दिए । उनको १९ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । यसैगरि, रुपन्देहीको देबदहका ७५ बर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । क्षयरोगी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।