धरान: भारी बर्षासँगै गएको पहिरोले वेपत्ता बनाएको संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना अझै फेला परेका छैनन् ।

पहिरोले सोही गाउँपालिकाका ८२ परिवार विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम र पहिरोले क्षति पुगेका घरका ३ सय ४९ जनालाई गाउँपालिकाले सुरक्षित स्थानमा लगेर राखेको छ । तिनै परिवारलाई प्रदेश १ सरकारले राहत तथा खाद्यान्न सामग्री पठाउने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको विपद महाशाखा प्रमुख कमल थापाका अनुसार विस्थापित सबै विस्थापित परिवारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत राहत तथा खाद्यान्न सामग्री पठाउन लागिएको छ । ‘सबै परिवारलाई टेण्ट, चामल, दाल, नुन, तेल पठाउने तयारीमा छौं । सामानहरु एयरपोर्टमा पुगिसकेको छ,’थापाले भने,‘मौषम अनुकुल भएअनुसार पठाउछौं ।’

विपद महाशाखाका अनुसार ८२ थान टेण्ट र चामल, दाल, नुन र खानेतेल प्याक गरिएको ८२ बोरा खाद्यान्न पठाउने तयारी गरिएको छ । सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर राईका अनुसार वडा नं १ को चेप्चेवा र बेसिन्दा गाउँका बासिन्दाहरुलाई सुरक्षित ठाउँमा लगेर राखिएको छ । ती ठाउँका ८२ परिवारलाई तिवाटार र चित्रे भन्ने ठाउँमा लगेर राखिएको अध्यक्ष राईले जानकारी दिए । ‘सुरक्षित रहेको गाउँका मानिसहरुको घरमा राखिएको छ । कसैको घर पहिरो लगेको छ भने कसैको उच्च जोखिममा छ,’अध्यक्ष राईले भने,‘प्रदेश सरकारबाट खाद्यान्न, राहत पठाउन लागेको जानकारी आएको छ । अहिले पानी नपरेपनि मौषम धुम्म चै छ ।’