धरान: सुनसरी जिल्ला अदालतका न्यायाधिशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको आत्महत्या घटनामा २ जनालाई पक्राउ गरेर प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार खतिवडाकी पत्नी दिक्षा र उनको प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरि मुद्दा चलाइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार मृतकका भाईले प्रहरीमा जाहेरी दिएका थिए । अनुसन्धानको क्रममा मृतककी श्रीमति र छिमेकी विशालको बीचमा अफेयर रहेको खुलेको छ । घटनाबारे मृतक खतिवडालाई जानकारी रहेको र श्रीमतिलाई पटक पटक सम्झाउदा पनि सुधार नभएपछि डिप्रेसनमा पुगेका खतिवडाले आफैलाई गोली हानेको अनुसन्धानबाट खुलेको डिएसपी शर्माले बताए ।
खतिवडाले असार १६ गते आफैलाई पेस्तोलले कञ्चटमा गोली हानेका थिए । ‘श्रीमति छिमेकी विशाल तामाङसँग लागेको रहेछ । कति पटक सम्झाउने कोसिस गर्दा पनि नसुध्रिएपछि आफैलाई गोली हानेको अनुसन्धानबाट खुल्यो,’डिएसपी शर्माले भने,‘मृतकको १३ दिने काम सकिएपछि पक्राउ गरिएको हो ।’ मृतकको घर मोरङको उर्लाबारी २ राजघाट हो । दुवैलाई ३ दिनअघि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
‘आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । अदालतबाट ५ दिनको म्याद थप पनि भएको छ,’डिएसपी शर्माले भने । अपराध संहिताको दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन गर्न दिने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्ने वा गराउन नहुने’ प्रावधान रहेको छ भने उपदफा २ मा कसुर गर्ने व्यक्तिलाई ५ बर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान रहेको छ ।