धरान: एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मीसहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न मुलुकबाट आएकाहरुको दुई दिनअघि एन्फा क्वारेन्टाइनमा स्वब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार रिपोर्ट नेगेटिभ आएका सबैलाई आज डिस्चार्ज गरिएको छ ।

रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम क्वारेन्टाइनमा थिए । यस्तै, एक जना ल्याब टेक्निसियनको पनि पिसिआर गरिएको थियो भने २ जना क्वारेन्टाइन सुरक्षामा खटिएका नेपाली सेनाको पनि परीक्षण गरिएको थियो ।

आज २८ जनाको स्वाब संकलन

आज पनि धरानमा क्वारेन्टाइनमा रहेका थप २८ जनाको स्वाब संकलन गरिएको छ । एन्फा क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी डुका घिसिङका अनुसार ३ जना महिला र २५ जना पुरुषको स्वाब नमुना संकलन गरिएको हो । ती मध्ये ८ जना एन्फा क्वारेन्टाइनमा छन् भने ५ जना होटल र १५ जना होम क्वारेन्टाइनमा रहेको उनले बताइन् । संकलन गरिएको स्वाबको नमुना वीपी प्रतिष्ठानको ल्याबमा पठाइएको छ ।