धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका कोरोना संक्रमितलाई उनको गृहजिल्ला सप्तरी पठाइएको छ ।

स्वास्थ्य सुरक्षाको प्रोटोकल अनुसार सुरक्षितरुपमा शव वहानमा राखेर सप्तरी पठाइएको हो । मृतकका छोरा र अर्का एक आफन्तलाई पनि एम्बुलेन्समा राखेर पठाइने इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार सुनसरीको टोली कोशी ब्यारेजसम्म शव पुर्याएको छ । त्यसपछि सप्तरीको टोलीले शव जिम्मा लिएर व्यवस्थापन गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका कोरोना फोकल पर्सन इन्द्रदेव यादवका अनुसार नेपाली सेनासहितको टोलीले मृतकको शव जिम्मा लिइसकेको छ । मृतकको शवलाई कोशी ब्यारेजको पश्चिमतर्फको फिल्डमा गाड्ने तयारी भइरहेको उनले बताए । ‘भर्खर कोशी ब्यारेजमा आर्मी टोलीले शव जिम्मा लिएको छ । कोशी ब्यारेज पश्चिमतर्फ गाड्ने तयारी भएको छ,’उनले भने ।

corona-posite-death1

सप्तरीको राजविराजका ७३ बर्षीय वृद्धको हिजो राती वीपी प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो । मुटू र उच्चरक्तचापका विरामी ती वृद्ध बुधबार वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा आएका थिए । उनलाई शंका लागेर इ एरियामा राखिएको र पिसिआर जाँच गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । साँझ करिब ६ बजे आइसोलेसन लगिएका ती वृद्धको राती १० बजेरित मृत्यु भएको थियो ।