मोरङ: क्लिनिकबाट अवैधरुपमा औषधी बिक्री बितरण तथा किनबेच गर्ने ३ जनालाई प्रहरीले बेलबारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्लिनिक सञ्चालकसहित धरान १७ का एक युवा पनि छन् । मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरि हिजो सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी पक्राउ परेका छन् । उक्त औषधी पसलमा अवैध औषधी किनीरहेका बेलवारी ५ का २३ बर्षीय शिबजी चौधरी र धरान १७ का २१ बर्षीय किसनलाल थारुलाई पनि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
क्लिनिकबाट Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल, Decolic २००० क्याप्सुल, Spasmo २८० क्याप्सुल, Antikof ७५० क्याप्सुल, Asidol १००० क्याप्सुल, Pregasoft -९६० क्याप्सुल, Spaspain ४००० क्याप्सुल, Pregalin २०० क्याप्सुल, Surgidol १८० क्याप्सुल, Koftab २३० क्याप्सुल पनि वरामद भएको छ । साथै औषधी किन्ने शिबजीको साथबाट Spaspain ४० क्याप्सुल र किसनलालको साथबाट Pregasoft - १० क्यापसुल र Kotaf औषधी १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । अबैध औषधीसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
भारतबाट आउने लागुऔषध आयातमा कडाई गरिएपछि पछिल्लो समय युवाहरु फर्मुला प्रयोग गरेर लागुऔषध सेवन तथा बिक्री, वितरण गरिरहेका छन् । यसमा मेडिकल पसलहरुबाट नै डाक्टरको प्रेस्क्रिप्सन विना औषधी बिक्री गर्ने गरेका छन् । लागुऔषधका कारोबारी तथा सेवनकर्ताहरुले विभिन्न प्रकारका औषधीलाई मिसाएर लागुऔषधकोरुपमा प्रयोग गर्ने गरेका छन् । यसलाई उनीहरु फर्मुला भन्ने गरेका छन् । केही समय यता धरानबाट पनि मेडिकल सञ्चालकसहित फर्मुलाका कारोबारीहरु पक्राउ परिरहेका छन् ।