धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएका महोत्तरीका मृतकको शव अन्त्येष्टी गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार प्रोटोकल अनुसार नै आज बिहान करिब ७ बजे मृतकको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । शवलाई जलेश्वर नगरपालिकास्थित तोकिएको स्थानमा सेनाको टोलीले व्यवस्थापन (गाडेको) गरेको प्रजिअ काटुवालले जानकारी दिए । 'आज बिहान ७ बजेतिर शवलाई व्यवस्थापन गरियो । यसको सम्पुर्ण जिम्मा आर्मीको हो, जलेश्वर नगरपालिकामा तोकिएको ठाउँमा डोजरले खनेर गाडिएको छ,' प्रजिअ कटुवालले भने ।
हिजो साँझ महोत्तरीका ६० बर्षीय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा वीपी प्रतिष्ठान निधन भएको थियो । करिब एक साताअघि प्रतिष्ठान आएका उनलाई आइसियुमा उपचारको क्रममा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा स्थानान्तरण गरिएको थियो । भेन्टिलेटरमा उपचारको क्रममा ती वृद्धको हिजो साँझ निधन भएपछि उनको शवलाई राती नै महोत्तरी पठाइएको थियो ।