झापा: झापामा पहिरोले पुरिएर र खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३ जना घाइते भएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका ७ मा मंगलबार राती गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको हो । सोही पहिरोमा परी ३ जना घाईते भएको झापा प्रहरीले जनाएको छ । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको हो । यस्तै, ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
यस्तै, पहिरोले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेका २ घर उच्च जोखिममा रहेको छ । उच्च जोखिममा परेको २ घर परिवारका मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खोलाले बगाएर एकको मृत्यु
झापाको भद्रपुर नगरपालिका २ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ । गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।