धरान: विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको छ ।

विराटनगरमा पछिल्ला दिनमा संक्रमितको संख्या बढेसँगै आज नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै अर्को व्यवस्था नभएसम्मका लागि कुनै पनि सभा, सम्मेलन, गोष्ठीजस्ता कार्यक्रमहरु रोक लगाउने निर्णय गरेको महानगरका प्रवक्ता एवं सिसिएमसीका सचिव राजेन्द्र प्रधानले बताए ।

उनका अनुसार ट्राभल हिष्ट्री नभएकालाई पनि संक्रमण देखिएको छ भने केही संक्रमितलाई लक्षण पनि देखिएको छ । ‘यो निक्कै गम्भीर अवस्था हो, र समुदायस्तरमा संक्रमण भएको निष्कर्ष निकालिएको छ । त्यसैले थप संक्रमण फैलिन नदिन यस्तो निर्णय लिनु परेको हो,प्रवक्ता एवं सिसिएमसिका सचिव प्रधानले भने ।

महानगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलिका अनुसार संक्रमितहरुमध्ये १४ जनाको ट्राभल हिष्ट्री देखिएको छैन । यस्तै १० जनामा कोरोनाको लक्षण पनि देखिएकोले चिन्तित हुनपर्ने अवस्था आएको उनले बताए । ‘ट्राभल हिष्ट्री नहुने र लक्षण पनि देखिनुले सबै गम्भीर हुनुपर्ने देखियो,’उनले भने ।

७ सदस्यीय अनुगमन टोली गठन

brt

कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित विराटनगरको सिसिएमसि बैठकले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेको छ भने अनुगमनको लागि ७ सदस्यीय कोभिड १९ अनुगमन टोली गठन गरेको छ ।

अनुगमन टोलीको संयोजक प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने सामाजिक विकास मन्त्रालयका अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत, जिल्ला प्रहरी कार्यालयका अधिकृत, जनस्वास्थ्य महाशाखाका अधिकृत, महानगरका नगर निरीक्षक र उद्योग तथा वाणिज्य संघका प्रतिनिधि सदस्य रहनेछन् ।

यस्तै, बैठकले नगर क्षेत्रमा अनिवार्य मास्क प्रयोग गर्न लगाउने र मास्क प्रयोग नगर्नेहरुलाई शुल्क लिएर मास्क उपलब्ध गराउने पनि निर्णय गरेको सिसिएमसिका सचिव प्रधानले बताए । ‘जसले मास्क प्रयोग गर्दैन, उनीहरुलाई मास्क अनिवार्य हो भन्ने महसुस गराउनको लागि मास्कको शुल्क लिएर उपलब्ध गराउने निर्णय गरिएको हो,’उनले भने,‘मास्क नलगाउनेलाई मैले आफैले किनेको भए हुन्थ्यो, मलाई आवश्यक हो भन्ने बनाउ बनाउनको लागि हो ।’