धरान: पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । निधन हुनेमा एक जना भारतीय नागरिक पनि छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा, धनुषा र बारामा ३ जना पुरुषको मृत्यु भएको हो । योसँगै मृतकको कुल संख्या ४८ पुगेको पनि उनले बताए । उनका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १० मा ६५ बर्षीय भारतीय नागरिकको मृत्यु भएको छ । उनको गण्डक अस्थायी कोभिड अस्पतालमा हिजो निधन भएको हो । उनी मुटु र मधुमेहको रोगी थिए ।
यस्तै, धनुषाका ३६ बर्षीय संक्रमितको पनि निधन भएको छ । ज्वारो, खोकी र श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पताल भर्ना भएका थिए । सुधार नभएपछि थप उपचारको लागि धरान ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको डा.गौतमले जानकारी दिए । यसैगरि, आज बारा जिल्लाका ६० बर्षीय पुरुषको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रवक्ता डा.गौतमले बताए । उनका अनुसार मृतक निमोनिया, मास्तिष्कघात र मगृौलाका विरामी थिए ।