धरान: करेन्ट लागेर गम्भीर घाइते भएका धरान १३ का पाष्टर जीवन सुब्बालाई उपचारको लागि काठमाण्डौं लगिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेपछि उनलाई बुधबार राती नै राजधानी लगिएको हो । उनको किर्तिपुर हस्पिटलमा उपचार शुरु भइसकेको घाइते सुब्बाका आफन्त एवं एवं कान्तिपुर दैनिकका पत्रकार प्रदिप मेन्याङ्बोले जानकारी दिए । घाइते सुब्बाको करेन्ट लागेर शरीरको एक पाटा जलेको छ । जलेको विरामीको उपचार वीपीमा नहुने भएपछि काठमाण्डौं रिफर गरेको थियो । 'उहाँलाई राती नै एम्बुलेन्सबाट काठमाण्डौं लगियो, किर्तिपुर हस्पिटलमा उपचार शुरु भइसकेको छ,'पत्रकार मेन्याङ्बोले भने । उनका अनुसार जलेका विरामीको उपचार हुने हस्पिटलमा वीपीले रिफर गरिदिएको हो ।

धरान १३ स्थित शिवधारा(बेसक्याम्प)स्थित चर्च अफ गडको प्रमुख पाष्टर सुब्बा हिजो(बुधबार) करेन्ट लागेर गम्भीर घाइते भएका थिए । इमानुयल स्कुलका डाइरेक्टर पनि रहेका सुब्बालाई तत्काल उपचारको लागि वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । निर्माण कार्य भइरहेको ठाउँमा बाँसको खट बाँधेको नरिवलको डोरी फुकाउने क्रममा हाइटेन्सको तार छोएर उनलाई करेन्ट लागेको थियो । करेन्टले उनको शरीरको ३० प्रतिशत भाग जलेको बताइएको छ ।