धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न आएका एक वृद्धलाई कोरोना आशंका गरेर शनिबार आइसोलेसनमा पठाइएको थियो ।
बेलबारी घर भएका ती वृद्धको आज बिहान करिब १० बजे निधन भयो । सोमबार बिहान उनको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको थियो । रिपोर्ट नेगेटिभ आइसके पनि डाक्टरहरुले दोस्रो पटक पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म आइसियुमा पठाउन नमिल्ने भनेर आइसोलेसनमा नै राखेको र आज बिहान बुबाको मृत्यु भएको जानकारी गराएको मृतकका छोराले मोवाइल सम्पर्कमा बताए । तर, दोस्रो पिसिआरको रिपोर्ट भने आजसम्म पनि नआएको र अहिले स्वाब नै मिसिङ(हरायो) भयो भन्ने जवाफ दिएको उनले बताए । ‘यो त हदैसम्मको लापरवाही भयो । एक पटक रिपोर्ट नेगेटिभ आइसकेको थियो, र पनि बुबालाई आइसियुमा नसारि आइसोलेसनमा नै राखे,’उनले भने,‘दोस्रो रिपोर्ट आएपछि सार्ने भने, अहिले त स्वाब नै हरायो भन्छन् ।’
आइसोलेसनमा खटिएकाहरुले अतिरिक्त सेवा सुविधा पाए पनि विरामीहरुले भने राम्रो उपचार नपाइरहेको भन्दै मृतकका छोराले गुनासो गरे । कोरोनाको शंका भएका विरामीहरुलाई उपचार नगरी र पोजेटिभ रिपोर्ट पनि नआई आइसोलेसनमा पठाइदिने गरेको उनको भनाई छ । ‘कोरोना हो कि होइन भन्ने कन्फर्म नै नगरि आइसोलेसनमा पठाइदिन्छन्, त्यहाँ त विरामीले उपचार नै नपाई मर्ने रहेछ,हाम्रो बुबा आफै हिडेर अस्पताल जानु भएको थियो,’उनले भने,‘पिसिआर रिपोर्ट आउन पनि कति दिन लाग्ने हो ? त्यतिबेला सम्म विरामीले उपचार नै नपाउने ?’
डाक्टरहरुले आज विहान बुबाको मृत्यु भएपछि शव लैजान भनेको उनको भनाई छ । परिवार, आफन्तहरु पनि शव लैजानको लागि वीपीमा आइसके पछि पुनः चिकित्सकहरुले दोस्रो रिपोर्ट नआएसम्म लैजान नमिल्ने भनेको मृतकका छोराको भनाई छ । ‘शुरुमा शव लैजानु भन्यो, फेरि रिपोर्ट आएको छैन, लैजान मिल्दैन भन्यो,’उनले भने,‘हामीले सबैतिर बुझ्यौं, स्वाब नै ल्याबमा पुगेको रहेनछ । मिसिङ पो भयो भन्न थाले ।’
यो बिषयमा दिउँसो अस्पताल प्रशासनमा छलफल भएको थियो । छलफलमा अस्पताल प्रशासनले स्वाब हराउनुमा गल्ती भएको स्वीकार गर्दै पुनः स्वाब लिएर परीक्षण गर्न विराटनगर पठाएको पनि मृतकका छोराले बताए । ‘राती ८ बजेसम्म रिपोर्ट आउछ, अनि नेगेटिभ आए शव लैजानु भन्दै थिएँ, हामीले आज शव बुझ्दैनौं भनेर फर्कियौं,’उनले भने ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले मृतकको २ दिनअघि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए । पहिलो रिपोर्ट नेगेटिभ आए पनि शंकास्पद व्यक्ति नै हुने र दोस्रो पटक पनि स्वाब परीक्षण गरेर मात्र कन्फर्म गर्ने गरिएको उनले बताए । ‘दोस्रो पटक स्वाब लिएको हो, तर टेक्निकल प्रोब्लम भयो,’स्वाब हराएको बिषयमा प्रवक्ता डा.सापकोटाले भने,‘परिवारसँग छलफल भएर स्वाब परीक्षणको लागि पठाइसकेको छ ।’
प्रवक्ता डा.सापकोटाले उपचारमा लापरवाही नभएको र वृद्धको भेन्टिलेटरमा राखेर उपचार गरिएको बताउँछन् । लक्षण भएका र सिकिस्त विरामीहरुलाई भेन्टिलेटरसहितको आइसियु व्यवस्था पनि आइसोलेसनमा भएको उनले बताए । ‘मुख्य आइसियुमा भएजस्तै भेन्टिलेटरसहितको आइसियु त्यहाँ पनि छ, उपचारमा लापरवाही भएको छैन,’उनले भने ।