धरान: आज कोरोना संक्रमण पुष्टि भएका ९ जना मध्ये एक जना धरान १९ का ४० बर्षीय एक पुरुष पनि छन् । उनी वीपी प्रतिष्ठान जाने धनकुटे रोडमा होटल तथा लज सञ्चालक हुन् ।

उनी पनि धरान ८ स्थित बोनस मलमा सञ्चालित क्रञ्च फिटनेस जाने गरेको पाइएको छ । सम्भवतः उनलाई पनि त्यहीबाट संक्रमण भएको अनुमान गरिएको छ । एक अनलाईनसँग कुरान गर्दै ती संक्रमित होटल सञ्चालकले क्रञ्च बन्द गरिएको थाह पाएपछि पिसिआर जाँच गराउन साउन २२ गते स्वाब दिएको जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपनि उनले बेला बेला ज्वरो आउने र खोकी लाग्ने बताएका छन् । उनी होटल आइसोलेसनमा नै बसेका छन् ।

योसँगै क्रञ्च फिटनेसका सम्बन्धित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्रञ्च फिटनेस गएकाहरुमा धमाधम संक्रमण देखिन थालेपछि धरान उपमानगरपालिकाले पनि फिटनेस जाने सबैको नामावली संकलन गरेर पिसिआर परीक्षण गर्ने तयारी गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले क्रञ्चका १५ जनाको आजै स्वाब संकलन गरिने बताए । ‘आज १५ जना स्वाब दिनको लागि एन्फा क्वारेन्टिन आइसक्नु भएको छ,’मेहताले भने,‘बाँकीलाई भोली समय र उपयुक्त ठाउँ मिलाएर स्वाब दिन बोलाउछौं ।’