धरान: कोरोना हटस्पट रहेको जनकपुरबाट आएपछि क्वारेन्टिनमा नबस्ने र ज्वरो आएपछि स्वाब दिएर पनि खुलेआम भेटघाट गर्ने, अप्रेशन थिएटरमा जाने डाक्टरको परिवारै संक्रमण भएको पाइएको छ ।
दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएका इएनटि विभागका एक डाक्टरको श्रीमति, छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको हो । उनको रिपोर्ट पोजेटिभ आएपछि परिवारका अन्य सदस्यहरुको पनि पिसिआर गरिएको थियो । ती डाक्टर जनकपुरबाट आए पछि क्वारेन्टिनमा बसेका थिएनन् । ज्वरो आएपछि पिसिआर परीक्षण गर्न दिएर पनि उनी होम आइसोलेसनमा नबसेको कारण प्रतिष्ठानमा धेरैलाई संक्रमण फैलाएको आशंका गरिएको छ । ती डाक्टरको लापरवाहीको कारण प्रतिष्ठानकै चिकित्सकहरु पनि असन्तुष्ट छन् ।
स्वाब दिए पछि ती डाक्टर अप्रेशन थिएटरमा पनि गएर आवश्यक निर्देशन दिएका थिए । जसले गर्दा अप्रेशन थिएटर नै सिल गर्नुपरेको थियो । साथै, उनले आफन्तलाई दाँच उपचार गराउन डेन्टल लगेको कारण एक दिन ओरल सर्जरी नै बन्द गरिएको थियो । उनी इएनटि विभागकै एक चियापन कार्यक्रममा पनि सहभागी भएका थिए । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि प्रतिष्ठानमा हलचल नै मच्चिएको थियो । रिपोर्ट पोजेटिभ आए पछि पनि उनी आइसोलेट भएर नबस्दा उनको क्वार्टर आसपासका चिकित्सकहरु त्रसित भएका थिए ।
२ जनाको खोजी कार्य जारी
वीपी प्रतिष्ठानको हेल्थ डेस्कमा आएर स्वाब संकलन गरिएका अन्य २ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । तर, उनीहरु कहाँका, को हुन् भन्ने खुलिसकेको छैन । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनीहरुको खोजी कार्य जारी छ । ‘२ जना वीपीको हेल्थ डेस्कमा गएर जाँच गराएका रहेछन्, उनीहरु कन्ट्याक ट्रेसिङबाट नै गएका हुन् । धरानको होइन भन्ने छ, वीपीले पनि खोजी गरिरहेको छ,’मेहताले भने ।