विराटनगर: प्रदेश १ मा ६० हजार बढीको पिसिआर परीक्षण गरिएको छ ।
गत चैत १८ गतेदेखि मंगलबार साँभ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पिसिआर परीक्षण भएको हो । ती मध्ये प्रदेश १ का जिल्लाहरुको ५६ हजार ४ सय १६ वटा पिसिआर परीक्षण भएको हो भने प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पिसिआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७ वटा पिसिआर परीक्षण गरेको जानकारी दिए । यस्तै, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पिसिआर परीक्षण गरेको बताए ।
परीक्षण गरिएका मध्ये १ हजार ५ सय ६३ वटाको रिपोर्ट पोजेटिभ आएको छ । अन्य, ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ८ जनाको मृत्यु भईसकेको छ । प्रदेश १ मा मोरंगमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरंगमा मात्र ६ सय ५७ जना संक्रमित भएका छन् । मोरंगमा १६ हजार ९ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा यो तथ्यांक आएको हो । विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए ।
महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्यावले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगर विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० रहेको उनले बताए । सोही पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले प्रदेश १ मा रहेका ३ वटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।
झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उनको भनाई थियो । मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताए । प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाब होल्डमा रहेको पनि बताए । उनका अनुसार दैनिक ७ सय स्वाब होल्डमा हुने गरेकोछ ।