धरान: आज बिहान धरानमा ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो । ती मध्ये ५ जना इण्डिन आर्मी थिए भने एक जना साउदी अरबबाट आएर क्वारेन्टिनमा रहेका थिए ।

एक जना धरान १६ का २३ बर्षीय युवा मात्र घरमा रहेका थिए । ती युवा धरान ८ स्थित बोनस मलमा रहेको क्रञ्च फिटनेसका सदस्य भएको खुलेको छ । योसँगै क्रञ्चका ७ जना सदस्यहरुमा संक्रमण पुष्टि भएको छ । सञ्चालक प्रदिप गिरीले आज पोजेटिभ रिपोर्ट आएका धरान १६ का युवा क्रञ्चको सदस्य भएको बताए । ती सदस्यलाई हल्का खोकी लाग्नुबाहेक स्वास्थय अवस्था सामान्य रहेको उनले बताए । ‘आज एक जना हाम्रो सदस्यको रिपोर्ट पोजेटिभ आयो, मैले सम्पर्क गरेको थिएँ, अवस्था राम्रै छ, हल्का खोकी मात्र लागेको रहेछ,’गिरीले भने ।

सञ्चालक गिरीका अनुसार फिटनेसमा २५० जना सदस्य थिए । ती मध्ये २१० जना सदस्यहरुको स्वाब परीक्षण भएको र ती सबैको रिपोर्ट अइसकेको पनि गिरीले बताए । स्वाब परीक्षण गरिएको मध्ये ७ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको छ । ‘४० जना जतिको स्वाब परीक्षण गर्न बाँकी छ, तर उहाँहरुलाई कुनै लक्षण देखिएको छैन, र स्वास्थ्य समस्या पनि छैन,’उनले भने,‘मैले सबैलाई सुरक्षित बस्न, केही आफ्ठेरो भए स्वाब चेक गराउन भनिरहेको छुँ ।’

स्वाब जाँच गराउन बाँकी रहेका सदस्यहरुलाई पनि क्रमशः पिसिआर जाँच गराउन धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखासँग आवश्यक समन्वय भइरहेको गिरीले बताए । स्वाब परीक्षण गर्नको लागि पनि संक्रमितको नजिक सम्पर्क भएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भएपछि मात्र हुने भएकोले पनि ४० जना नपरेको हुनसक्ने सञ्चालक गिरीको भनाई छ । ‘जो कोहीको पनि स्वाब परीक्षण नहुने रहेछ, पोजेटिभ व्यक्तिको क्लोज कन्ट्याक छ भने कन्ट्याक ट्रेसिङ भएपछि मात्र हुने रहेछ,’उनले भने,‘तर पनि बाँकी सदस्यहरुलाई स्वास्थ्य महाशाखाको उमेश सरसँग कुरा गरेर पालैपिलो स्वाब टेष्ट गराउने कुरा भइरहेको छ ।’