धरान: अरु साथीभाईको पिसिआर रिपोर्ट बिहिबार आयो, तर विदामा घर आएका धरान १९ यलम्बर चोकका एक भारतीय सैनिकको भने रिपोर्ट आएन ।
रिपोर्ट आउन ढिलाई गरेको भन्दै उनले घर जाने ढिपी गरे । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि मानेनन् । त्यसैले घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने सर्तमा उनलाई घर पठाइदिए । तर, जुन सर्तमा उनी घर गएका थिए, त्यो नियम पालना गरेनन् । उनकै रिपोर्ट आज बिहान पोजेटिभ आयो । उनले एक दिन मात्र क्वारेन्टिनमा बस्ने धैर्य नगर्दा आफ्नो परिवारसँगै आफन्त, छिमेकलाई पनि संक्रमणको जोखिममा परेका छन् ।
वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुका अनुसार उनी यलम्बर चोकस्थित फुपु सासुको घरमा भाडामा बस्ने गर्छन् । सोही घरमा अन्य २ परिवार पनि भाडामा छन् भने घरधनीको पनि परिवार त्यही छ । वडा अध्यक्ष लिम्बुका अनुसार ती भारतीय सैनिक एन्फा क्वारेन्टिनबाट निस्कने बित्तिकै त्यही नजिकै रहेको ससुरालीतर्फको आफन्तको घरमा पनि गएका थिए । त्यहाँबाट उनले आफन्तको टेम्पोमा चढेर घर आएको भन्ने जानकारी दिएको वडा अध्यक्ष लिम्बुको भनाई छ । ‘क्वारेन्टिन नजिकै ससुराली आफन्त रहेछ, त्यहाँ पनि गएछ । यहाँ घरमा पनि एक जना छिमेकी भेट्न गएको भन्ने थाह भयो,’वडाअध्यक्ष लिम्बुले भने,‘कसैलाई पनि बाहिर ननिस्कन भनेका छौं, सबैको स्वाब परीक्षण गराउने कुरा हुदैछ ।’
वडा नं १७ का अध्यक्ष तथा क्वारेन्टिन व्यवस्थापन समिति अध्यक्ष मनोज भट्टराईका अनुसार उनको रिपोर्ट हिजो शुक्रबार आउनुपर्ने भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै स्वाब भएकोले ढिलाई भयो । रिपोर्ट आउन ढिला भएपछि उनले जर्बजस्ती घर जान्छु भनेर ढिपी गरेपछि क्वारेन्टिनको नियम पालना गर्ने सर्तमा पठाइएको अध्यक्ष भट्टराईले बताए । ‘स्वाब धेरैको भएकोले आउन ढिलाई भयो । उहाँले धैर्य गर्न सक्नुभएन । जर्बजस्ती घर जान्छु भन्न थालेपछि घरमा क्वारेन्टिनमा बस्छु, नियम पालना गर्छु भनेर पठाइएको थियो,’उनले भने,‘तर क्वारेन्टिनमा नबसेको भन्ने जानकारी आएको छ ।’