धरान: लकडाउनको बेला भारतबाट धरान आइपुगेका एक भारतीय परिवारको खोजी तीब्र बनाए पछि जनप्रतिनिधिहरुले फेला पार्न सकेनन् ।
धरान १२ चतरालाइनमा डेरा गरि बस्ने भारतीय परिवार हिजो(बुधबार) भारतबाट धरान आएका थिए । उनीहरुको धरान आएपनि आफ्नो डेरामा नबसी धरान १६ स्थित आफन्तको घरमा बस्न गएको खुलेको थियो । आज(बिहिबार) परिवारकै एक जना आफ्नो डेरामा पुगेपछि यो परिवार लकडाउनको बेला पनि भारतबाट धरान आएको सार्वजनिक भएको थियो । उनीहरु डेरा गरि बस्ने घरमा अरु पनि परिवार डेरा गरि बस्छन् । ती परिवारहरुले भारतबाट आएकालाई डेरामा प्रवेश गर्न दिएनन्, र १२ नम्बर वडाका अध्यक्षलाई खबर गरिदिए ।
वडाअध्यक्ष टंक राईले क्वारेन्टिनमा पठाउने योजना बनाउदै गर्दा ती भारतीय नागरिक हिडिहाले । उनी वडा नं १६ को आफन्तको घरमा गएको अनुमान गर्दै वडाअध्यक्ष राईले वडा १६ का अध्यक्ष दिलकुमार गिरीलाई जानकारी गराए । भारतीय नागरिक आफ्नो वडामा आएको सुचना पाएपछि अध्यक्ष गिरी र कार्यपालिका सदस्यसमेत रहेकी हिरा राईले बिहिबार दिनभर वस्ती, टोलमा पुगेर सोधीखोजी गरे, तर भारतीय नागरिकहरु फेला पार्न सकेनन् । ‘हामीले बिहान झण्डै ६ बजेदेखि नै टोल, वस्तीमा सोधी खोजी गर्दै पुग्यौं, तर कही फेला पार्न सकेनौं,’वडाअध्यक्ष गिरीले भने,‘मान्छे त आएको हो, मर्निङ वाक गर्नेहरुले पनि देखेको भन्छन्, तर कहाँ गए भनेर हामी चकित पर्यौं ।’
कार्यपालिका सदस्य हिरा राईका अनुसार वडा नं ११ को गैरी गाउँ, वडा नं १६ को पनि गैरी गाउँ, नौलो वस्ती, लोकतन्त्र वस्ती, सुर्य टोललगायत सबै तिर बिहानैदेखि सोधीखोजी गरिएको थियो । तर, कही पनि पत्ता लागेन । ‘हामीले सबैलाई कोही नयाँ मान्छे आएको देख्नुभयो भने खबर गर्नु भनेर भनेका छौं,’उनले भनिन् । यता वडा नं १२ का अध्यक्ष टंक राईले आफ्नै वडामा ती मानिसहरुलाई आउनै नदिएकोले धरानकै अन्य कुनै वडातिर लुकेर बसेको हुनसक्ने बताए ।
गत साउन पहिलो साता लकडाउन खुलेपछि धरान १२ चतरालाइनमा डेरा गरि बस्ने यो परिवार भारत गएको थियो । उनीहरुको घर विहारमा छ । छोराको विहे गर्न भनेर गएको यो परिवारका एक सदस्य बिहिबार बिहानै अचानक चतरालाइनस्थित डेरामा देखा परेका थिए । उक्त घरमा डेरा गरि बस्ने अरुले उनी आएको थाह पाएपछि प्रवेश गर्न दिएनन् । त्यही बेला उनीहरु अघिल्लो दिन(बुधबार) धरान आएको र धरान १६ मा आफन्तको घरमा बसेको खुलेको थियो । उनीहरु धरानको कुन नाकाबाट प्रवेश गरे भन्ने पनि खुलेको छैन । तर, धरानको नाकामा आवतजावतमा कडाई नगरिएकोप्रति वडा १२ र १६ का अध्यक्षहरु असन्तुष्ट छन् ।
भारतबाट आएपछि क्वारेन्टिन बस्नुपर्ने र पिसिआर परीक्षणको रिपोर्ट आएपछि मात्र समुदाय घरमा जानुपर्ने भएपनि यो परिवार क्वारेन्टिन बसेको छैन । भारतमा कोरोना संक्रमण अत्यधिक छ, र नेपालमा पनि भारतबाट आएकाहरुबाट नै संक्रमण समुदायमा फैलिएको हो । यो परिवारका सदस्य कसैलाई संक्रमण छ भने धरानमा पनि समुदायमा सार्ने सम्भावना भएकोले जनप्रतिनिधिहरु चिन्तित भएका छन् ।