धरान:लकडाउनको बेला पनि सहजरुपमा धरान आएका भारतीय नागरिकहरु भेटिएका छन् ।
धरानको वडा नं १६ र १२ का जनप्रतिनिधिहरुले हिजो बिहानदेखि खोजी गरेका उनीहरुलाई आज मध्याह्न धरान ९ स्थित आचार्यलाइनमा फेला पारेका हुन् । श्रीमान्, श्रीमति र छोरीसहित भेटिएका उनीहरुलाई उपमहानगरपालिकासँगको समन्वयमा धरान १७ स्थित एन्फा क्वारेन्टिन पठाइएको वडा १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘हिजोदेखि खोजी गरिरहेका थियौं, वडा ११, १६ मा आफन्तहरुको घरमा पाहुना लाग्दै आचार्य लाइनमा आइपुगेको बेला फेला पर्यो,’उनले भने,‘हामीले खोजी गरिरहेको भन्ने थाह पाएपछि राजविराजबाट मोटरसाइकल मगाएर भारततिर नै फर्कन लागेको रहेछ ।’
भारतमा मात्र होइन, भारतसँग सिमाना जोडिएका नेपालकै तराईका जिल्लाहरुमा पनि अत्यधिक संख्यामा कोरोना संक्रमण बढीरहेको छ । धरानमा पनि संक्रमण समुदायस्तरमा नै देखिन थालेपछि उपमहानगरपालिकाले साउन २२ गतेदेखि पुर्णलकडाउन गरेको छ । तर, यही समयमा पनि धरान १२ चतरालाइनमा डेरा गरि बस्ने एक भारतीय परिवार बुधबार धरान आएको खुलेको थियो । उनीहरु साउनको पहिलो साता संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि भारतको विहार राज्यस्थित घरतर्फ गएका थिए । हिजो बिहानै चतरालाइनस्थित डेरामा एक जना पुगेपछि भारतबाट आएको सार्वजनिक भएको थियो । उनीहरुलाई बुधबार धरान आएर आफन्तको घरमा बसेका थिए ।
धरान १६ स्थित आफन्तको घरमा बसेको भन्ने प्रारम्भिक जानकारीमा वडा १६ का अध्यक्ष गिरीसहित कार्यपालिका सदस्य हिरा राई मिलेर हिजो बिहिबार दिनभर वडाका वस्तीहरुमा खोजी गरेपनि उनीहरुलाई फेला पार्न सकेका थिएनन् । तर, आज बिहान वडा नं ११ स्थित नगरकोट भन्ने वस्तीमा एक आफन्तको घरमा भारतीय नागरिकहरु आएर बसेको पत्ता लागेको थियो । त्यहाँ केरकार गर्दा बुधबार एक रात बसेर वडा १६ स्थित मालपोत कार्यालय नजिकै अर्का आफन्तको घरमा बिहिबार बास बसेको खुलेको थियो । ‘त्यहाँ पनि गएर बुझ्दा आज हिडिसकेको भन्न थाह पायौं,’अध्यक्ष गिरीले भने ।
आफुहरुको खोजी तीब्र भइरहेको सुइको पाएपछि उनीहरु राजविराज हुदै फर्कनको लागि बाटो लागेका थिए । उनीहरु आचार्यलाइनमा बसेर राजविराजबाट मोटरसाइकल पनि मगाएका थिए । तर, धरान १२ चतरालाइनस्थित उनीहरुको डेरा नजिकै घर भएका एक व्यक्तिले देखेपछि वडा नं १२ का सदस्य ब्रह्मज्ञ भट्टराईलाई खबर गरेपछि फर्कन पाएनन् । ‘उनीहरुको डेरा नजिकै रहेको एक भाईले मलाई खबर गर्नुभयो । त्यहाँबाट कतै जान नदिनु भनेर स्वास्थ्य महाशाखा, वडा १६ का अध्यक्षलाई खबर गरे,’भट्टराईले भने,‘एम्बुलेन्स बोलाएर क्वारेन्टिन पठाइदिएका छौं ।’ उनीहरुलाई क्वारेन्टिनमा राखेर पिसिआर पनि परीक्षण गर्ने र उनीहरुको रिपोर्टको आधारमा बास बसेको घरकालाई पनि थप परीक्षण गरिने भएको छ ।