विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित बुढिगँगा गाउँपालिका, कटहरी गाउँपालिका र रँगेली नगरपालिकाका केही वार्डमा निषेधाज्ञा जारी गरेको छ ।

भदौ १० गतेसम्म जारी गरेको प्रशासनको निषेधाज्ञाको असर विहानैदेखि परेको छ । विराटनगरका मुख्यचौकमा प्रहरीको तैनाथीलाई कडा बनाइएको छ भने आवतजावत गर्ने मान्छेलाई सोधपुध गरेपछि विशेष काम रहेछ भने मात्र छाडिने गरेको छ । कोशी राजमार्गको दुहवी तर्फबाट आउने नागरिकलाई निषेध गरिएको छ । तर, केही विशेष काम रहेको खण्डमा भने प्रहरीले छाड्ने गरेका छन् । त्यसमा ठुलो भिडभाड भने गर्न पाइने छैन ।

विराटनगरका मुख्य बजार क्षेत्र सुनसान छ । महानगरको लकडाउनको अवधिमा जबरजस्ति भिडभाड गरिने स्थानमा प्रहरीले उच्च निगरानी रहेको छ । प्रहरीको मोवाइल गस्ति बाक्लो भइरहेको हुँदा मानिसको आवतजावतलाई नियमन गरिरहेको देखिन्छ ।

गत साउन १६ गतेदेखि विराटनगर महानगरपालिकाले लकडाउन घोषणा गरेको थियो । तीन हप्ता लामो लकडाउन गरेपनि विराटनगरमा समुदाय तहमा फैलिएको कोराना भाइरस नियन्त्रण र व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै महानगर प्रमुख भीम पराजुलीले प्रशासनसँग निषेधाज्ञा गर्न आग्रह गरेको थियो । एक हप्ता निधेषाज्ञा गरिदिने महानगरको आग्रह रहेपनि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ५ दिनसम्मका लागि मात्र निषेघाज्ञाको समयसीमा तोकिदिएका थिए । यद्यपी, निरौलाले विराटनगरको अवस्थालाई मध्यनगर गरेर ५ दिनको समयालाई बढाउन सकिने बताउँदै आएका छन् ।