विराटनगर: कोराना संक्रमितको संख्या ७४४ पुगेको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले थप ५ दिन निषेधाज्ञा घोषणा गरेको छ ।
यसअघि साउन १६ गते दोस्रो र ३० गते तेस्रो पटक विराटनगर महानगरपालिका आफैले लकडाउन घोषणा गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले घोषणा गरेको तेस्रो पटकको लकडाउन आज रातीदेखि सकिँदै थियो । शुक्रबार मध्यरातिदेखि नै निषेधाज्ञा जारी हुने मोरङका सिडिओ कोषहरी निरौलाले जानकारी दिएका छन् ।
निरौलाका अनुसार आज जिल्ला सुरक्षा समितिको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । महानगरले भने ७ दिन निषेधाज्ञा गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको थियो । निषेधाज्ञामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुललाई पूर्णरुपमा निषेध गरिएको छ । यस्तै, ५ जनाभन्दा बढि हिँडडुल गर्न सक्त मनाही गरिएको सिडिओ् निरौलाले जानकारी दिए ।
विराटनगरसँगै रंगेली नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , कटहरी गाँउपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा बुढीगंगा गाँउपालिकाको वडा नं. १, २, ३ र ४ नम्बरमा निषेधाज्ञा जारी गरिएको छ। यसैगरी जिल्लाभरी राति ९ बजे देखि हिडडुलमा पूर्ण रोक लगाइएको छ ।