विराटनगर: प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३७ महिला र ६५ पुरुष छन् ।
सबैभन्दा बढी मोरङका ४९ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला र १३ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै, सुनबर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुषमा संक्रमण पुष्टि भएको छ भने इटहरीमा ५ महिला र ३ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, धरानमा १ र महिला ३ पुरुषमा संक्रमण पुष्टि भएको छ भने गढी गाउँपालिकामा १ महिला र ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकका ३ महिला र १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, १ पुरुषमा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।