धरान: मोरङकी १६ बर्षीया एक बालिकालाई धरान १८ स्थित कान्तिपुर होटलमा जर्बजस्ती करणी गरेको आरोपमा रामधुनी ५, झुम्काका मोहमद इर्साद अलाम समातिएका थिए ।

उनलाई धरान प्रहरीले हिजो सार्वजनिक गरेको थियो । तर, यो घटनामा अन्य २ जना पनि पक्राउ परेको खुलेको छ । उनीहरु भने जर्बजस्ती करणी आरोपमा नभै होटलमा अलाम र ती बालिका बिच भएको यौन गतिविधिको भिडियो देखाएर बार्गेनिङ गरेको अभियोगमा समातिएका हुन् । उनीहरुले अलामसँग भिडियो देखाउदै ३ लाख रुपैया बार्गेनिङ गरेको पनि प्रहरीले जनाएको छ । अलामलाई नियन्त्रणमा राखेर भिडियो देखाउदै बार्गेनिङ गर्नेमा समिप मगर भन्ने सन्दिप देवान र डन दाई भन्ने गणेश दर्जी रहेका छन् । दुवैलाई पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार देवान र दर्जीसँग धरानको होटलमा अलामले जर्बजस्ती करणी गरेको भनिएको घटनाको भिडियो थियो । उनीहरुले अलामलाई सन्दिपले सञ्चालन गरिरहेको रामधुनी ५ स्थित डायमण्ड कम्प्लेक्समा बोलाएर भदौ ३ गते करिब ४ बजे बन्धक बनाएर उक्त भिडियो देखाउदै बार्गेनिङ गरेको प्रहरीको भनाई छ । सन्दिपले गणेशलाई प्रहरी इन्स्पेक्टर भन्दै चिनाएका थिए भने गणेशले पनि आफु इलाका प्रहरी कार्यालय धरानबाट आएको भन्दै नेपाल प्रहरीको मोनोग्राम भएको कालो छडी देखाएका थिए । ‘तिमीले धरानमा गल्ती गरेको रहेछौं, मसँग भिडियो छ, यो केस तिमीलाई गाह्रो हुन्छ, सक्छौं भने केस मिलाउ’ भन्दै उनीहरुले अलामसँग बार्गेनिङ शुरु गरेका थिए ।

दुवैले तत्काल ३ लाख दिए केस मिल्ने नभए ३ लाख २० हजार दिनुपर्छ भन्दै धाक,धम्की दिएको प्रहरीको भनाई छ । साथै, प्रमाणको लागि दुवैले सक्कल नागरिकता, अलामको होमियो मेडिकलको दर्ता प्रमाण पत्रको प्रतिलिपी, सवारी चालक अुनमतिपत्र(लाइसेन्स), नोकिया मोवाइल सेट पनि राखेर २ वटा सादा कागजमा औठा छापसमेत लिएका थिए ।

साथै दुवैले भोलीपल्ट पटक पटक फोन गरेर पैसा ल्याउन धम्की दिएपछि अलामले भदौ ५ गते इलाका प्रहरी कार्यालय पकलीमा सन्दिप र गणेश विरुद्ध उजुरी दिएका थिए । उनको उजुरीको आधारमा सोही दिन सन्दिप देवान पक्राउ परेका थिए भने फरार रहेका गणेश दर्जीलाई हिजो (सोमबार) इटहरी २, शान्तिझोडास्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध शरीर बन्धक तथा अपराधिक लाभ लिन नहुने मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उजुरी दिदा आफै फसे अलाम

mohamad

मोहमद इर्साद अलामको खास घर भोक्राहा नरसिङ गाउँपालिका ४ मदरसा टोल हो । उनी रामधुनी ५ मा एम.के.होमियो मेडिकल हल सञ्चालन गर्छन् । प्रहरी स्रोतका अनुसार मोरङकी बालिका र उनीबीच सहमतिमा नै धरानको होटलमा यौनजन्य कार्य भएको थियो । तर, उनीहरुबीचको कार्यको भिडियो पनि खिचिएको थियो । सोही भिडियोको दुरुपयोग गर्दै सन्दिप र गणेशले अलामसँग बार्गेनिङ गर्न थालेका थिए ।

एक दिन बन्धक बनाएर सादा कागजमा औठा छाप पनि गरेपछि अलाम आफै उनीहरुविरुद्ध प्रहरीमा उजुरी गर्न गए । उनको उजुरी पछि सोही दिन सन्दिप देवान पक्राउ परे । तर, प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा १६ बर्षीय नाबालिकासँग यौनजन्य कार्य गरेको खुलेपछि अलाम आफै पनि कानुनको फन्दामा परे । नेपालको कानुनमा १८ बर्ष मुनिकालाई नाबालिका मानेको छ, र सहमतिमा नै यौन सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुरुप प्रहरीले अलामलाई पनि पक्राउ गरेर धरान पठाएको हो ।

घटनास्थल धरानको होटल भएकोले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि धरान पठाइएको पकली प्रहरीको भनाई छ । भिडियो कस्ले खिच्यो भन्नेबारे प्रहरीले खुलाउन मानेको छैन तर, बालिकाले सन्दिपलाई पठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतको भनाई छ । ‘भिडियो देखाएर ब्लाकमेल गर्ने २ जना पक्राउ गरेका छौं, थप अनुसन्धान हुदैछ,’प्रहरी स्रोतले भन्यो ।