धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन जना मध्ये एक जना विरामी हुन् भने एक जना कन्ट्याक ट्रेसिङ गरिएका वीरगञ्जका व्यक्ति हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार सर्जरी वार्डको ३८ बर्षीया हेल्थ एडलाई संक्रमण पुष्टि भएको हो । यसअघि इर्मजेन्सीमा संक्रमण पुष्टि भएकी हेल्थ एडकै कन्ट्याक ट्रेसिङबाट उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको हो ।
यस्तै, एक जना सर्जरीमा भर्ना भई उपचाररत विरामीमा पनि संक्रमण पुष्टि भएको छ । मोरङबाट पिसाब रोकिएर उपचार गर्न आएका ७७ बर्षीय वृद्धमा संक्रमण देखिएको हो । उनको स्वाब लिएर आकस्मिक शल्यक्रिया गरिएको र अहिले रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । सर्जरी वार्डमा रहेका उनलाई कोभिड अस्पताल पठाउने तयारी गरिएको छ ।
यस्तै, प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएका वीरगञ्ज निवासी एक ४७ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी धरानमा नातेदारकोमा बस्दै आएका थिए । परविारका सदस्यलाई पोजेटिभ देखिए पछि क्वारेन्टिनमा बसेका थिए । स्वाब परीक्षणबाट उनको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
प्रतिष्ठानका अनुसार पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणमा ४१ जनाको पिसिआर पोजेटिभ रिपोट आएको छ । ती मध्ये ३ जना मात्र प्रतिष्ठानको हेल्थ डेस्कमा स्वाब लिएकाहरु हुन् । प्रतिष्ठानमा विभिन्न स्थानका कुल १२ सय ५३ स्वाब परीक्षण भएको थियो । ‘३ जना मात्र वीपीको हेल्थ डेस्कमा स्वाब लिएका हुन्, अरु स्वाब अन्य जिल्लाहरुबाट आएके हो,’प्रवक्ता डा.सापकोटाले भने ।