धरान: धरान २० साविक विष्णुपादुकाको टोट्केस्थित नवनिर्मित भ्यु टावर क्षेत्रको जग्गा विवादमा आज स्थानीयबीच कुटाकुट भएको छ ।
अंशवण्डाले विवादित जग्गामा टहरा बनाउने र बनाउन नहुने स्थानीयबीच आज दिउँसो झगडा भएको हो । जर्बजस्ती टहरा बनाउने पक्षका युवाहरुको आक्रमणबाट स्थानीय केशव राई घाइते भएका छन् । उनको टाउको, ओठमा चोट लागेको छ । जर्बजस्ती टहरा बनाउने पक्षका विजय तामाङलगायत युवाहरुले एक्कासी आक्रमण गरेको घाइते राईले बताए ।
उनका अनुसार टोड्केमा विष्णुबहादुर राई र उनका भाई रामबहादुरबीच अंशवण्डा भएको जग्गाको विवाद छ । विष्णुबहादुरले टोड्केमा भ्यु टावर बनाउने जग्गा दिएका थिए । सोही टावरको आसपासको विष्णुबहादुरको ऐलनी जग्गामा दाजू भाईबीच पारिवारिक समस्या रहेको बेला अन्यत्रका मानिसहरुले आएर जर्बजस्ती घर, टहरा बनाउन थालेपछि विवाद भएको उनको दाबी छ । यसअघि वडा सदस्य कर्ण तामाङले विष्णुबहादुरबाट किनेको भनिएको ऐलनी जग्गामा भौतिक संरचना निर्माण गर्दा नगर प्रहरीले रोकेको र पछि स्थानीयले भत्काइदिएका थिए ।
सोही क्षेत्रमा पुनः विष्णुपादुका मन्दिर छेऊका विजय तामाङले युवाहरुको समुह ल्याए भौतिक संरचना निर्माण गर्न थालेपछि स्थानीयहरु रोक्न र छलफल गर्न भन्दै आज टोड्के पुगेका थिए । सोही क्रममा विजयका बुबासँग कुराकानी भइरहदा एक्कासी आफुमाथि आक्रमण भएको उनले बताए । पीडित राई अहिले जाहेरी दिन इलाका प्रहरी कार्यालय धरान आएका छन् । ‘उनीहरु राम्रो नियतले आएको होइन रहेछ,’उनले भने,‘१५, १६ जना धुइरिए हानेछ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले सार्वजनिक जमिनमा टहरा बनाएको बिषयमा स्थानीयबीचमा कुटाकुट भएको भन्ने जानकारी आएको बताए । यस्तै, वडा नं २० का अध्यक्ष मणिराम राईले स्थानीयमा कुटाकुट भएको भन्ने जानकारी आफुले पाएको बताए । घटनाबारे जानकारी पाएलगत्तै तत्काल प्रहरीलाई पनि खबर गरेर घटनास्थल पठाएको उनले बताए । ‘विष्णुबहादुर राईले आफ्नो जग्गामा थुप्रै दबाब आए पनि मेरो जग्गा घेराबारा गरिदेऊ भनेर गुहार मागेको रहेछ । आज घेराबारा गर्ने क्रममा अर्को पक्ष किन घेराबारा गरेको भनेर गएछन्, त्यही बेला हातपात भयो भन्ने सुने,’उनले भने ।
अध्यक्ष राईले परिवारभित्रको विवादमा राजनीतिकरण हुदै गएको भन्दै चिन्ता पनि व्यक्त गरे । उपमहानगरपालिकाले वडा कार्यालयसँग समन्वय नगरी निर्माण हुदै गरेको घर भत्काउन निर्देशन दिएर समाजमा द्धन्द सृर्जना गरेको उनको आरोप छ । ‘यो घटना राजनीतिकरण हुदै गएको संकत देख्दैछु, यसरी त समाज खलबलिन्छ, यो राम्रो होइन,’वडाअध्यक्ष राईले भने,‘नगरको नेतृत्वले समयमा सुझबुझपुर्ण निर्णय र निर्देशन दिनुपर्ने थियो ।’
उनका अनुसार आज कुटिएका राई नेपाली कांग्रेस सम्बद्ध हुन् । केही दिनअघि वडा सदस्य राईले निर्माण गर्दै गरेको संरचना पनि उनको नेतृत्वमा गएकाहरुले भत्काएका थिए । यता घाइते राई भने जग्गा विवाद राजनीतिकरण नभएको दाबी गर्छन् । ‘राजनीतिकरण भएको होइन । हाम्रो भनाई दाजु भाईबीचको जग्गा विवाद छ, पहिला त्यो मिलाउनुपर्छ, त्यसपछि आफ्नो जग्गा बेचोस कि खाओस्,’उनी भन्छन् ।
भिडियो :