बिराटनगर: सुनसरी र झापाका २ स्थानमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ।

सुनसरीको ईनरुवा नगरपालिका ८ का १२ बर्षीय बसिम मियाको घर नजिकै जमेको पानीमा शनिवार दिउँसो माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका ४ का १८ बर्षीया कमला चेम्जोङको देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शनिवार अपरान्ह साँढे ४ बजे उनी निगुरो टिप्न गएकी थिइन् । सोही बेला उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर घाईते भएकी चेम्जोङलाई संगै गएकी साथीले देखेपछि प्रहरी चौकी महेशपुरमा खबर गरेकी थिइन् । तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी ओमसाई अस्पताल भद्रपुर पठाएको थियो । तर, उनको उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।