धरान: आज बिहान धरान १७ का एकै परिवारका वृद्धा आमा र छोराको मृत्यु भयो । यो खबरले स्थानीय मात्र होइन, समग्र धरानबासीहरुलाई नै स्तब्ध तुल्याएको छ ।

हुन त ७४ बर्षीय वद्धालाई मधुमेह(सुगर) र उच्च रक्तचाप(प्रेसर) को पनि विगतदेखि नै समस्या थियो । यस्तै, उनका ६० बर्षीय छोरालाई पनि मधुमेहको समस्या थियो भने २ महिनादेखि कलेजोको पनि समस्या देखिएको थियो । यी दीर्घकालिन रोगहरु हुँदाहुदै पनि एकै दिन आमा छोराको निधन स्वभाविक र अपेक्षित होइन ।

लक्षण देखिएर पनि जचाउन गएनन्

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार मृतक आमा छोरालाई एक सातादेखि नै कोभिडको लक्षण देखिएको थियो । तर, उनीहरुलाई हिजो राती मात्र वीपी प्रतिष्ठान उपचारको लागि लगिएको थियो ।

प्रतिष्ठानका अनुसार छोरालाई विगत १० दिनदेखि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वारो आएको थियो भने आमालाई यस्तै लक्षणहरु ७ दिनदेखि आइरहेको थियो । आमा सिरियस भएपछि वीपी प्रतिष्ठानको इर्मजेन्सीमा हिजो शनिबार मात्र राती ८ बजेर ३७ मिनेटमा भर्ना गरिएको थियो भने छोरालाई ८ बजेर ५९ मिनेटमा कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

वीपीमा भर्ना भएपछि मात्र दुवैको स्वाब लिइएको प्रतिष्ठानले जनाएको छ । ‘उहाँहरुलाई लक्षण देखिएर पनि घरमा नै राखिएको रहेछ । अन्य रोगहरु पनि भएकोले कोभिड हुँदा झन् गाह्रो हुन्छ,’प्रतिष्ठानका एक चिकित्सकले भने,‘परिवारले समयमा नै अस्पताल लैजानुपथ्र्यो वा स्वाब जचाउनुपथ्र्यो ।’ लक्षण देखिएर पनि स्वाब परिक्षण नगर्ने वा अस्पताल नजाने जस्तो लापरवाही नगर्न ती चिकित्सकको आग्रह छ । सुगर, प्रेसर, मुटु जस्ता दीर्घ रोग भएकाहरु उच्च जोखिममा हुने भएकोले ज्वरो, रुघाखोकी ठिक भै हाल्छ भन्ने ठानेर घरमा नबस्न उनको भनाई छ ।

धरान १७ रेल्वे चोक आसपासमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको थियो । मृतकको घर नजिकमा पनि संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङमा नपरे पनि मृतकहरु दुवैलाई ज्वरो आएकोबारे वडा नं १७ का अध्यक्षले थाह पाएका थिए । उनले परिवारलाई स्वाब परिक्षण गराउन आग्रह पनि गरेका थिए । तर, मृतक दुवैको हिजो वीपी लैजानु अघिसम्म स्वाब परिक्षण गराएका थिएनन् । ‘मैले ज्वारो आएको भन्ने थाह पाएपछि उहाँहरुलाई नजिकै एन्फामा गएर स्वाब परिक्षण गराउन भनेको थिएँ,’अध्यक्ष मनोज भट्टराईले भने,‘आज दुःखद खबर पायौं ।’

धरान १७ मा संक्रमणको स्रोत खुलेन

समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि धरानमा साउन २२ गतेदेखिको पुनः लडकाउन जारी छ । यो बीचमा उपमहानगरपालिकाले समुदायस्तरमा पिसिआर जाँच गरिसकेको छ भने संक्रमण पुष्टि भएका व्यक्तिहरुको ट्राभल हिष्ट्री बुझ्ने, कन्ट्याक ट्रेसिङ गर्ने र क्लोज कन्ट्याकमा रहेकाहरुको स्वाब परिक्षण पनि गराउने काम गरिरहेको छ । यसले संक्रमण भएका व्यक्तिलाई को बाट संक्रमण भयो भन्ने जानकारी हुन्छ भने उनको नजिक सम्पर्क भएकाहरुको पहिचान हुन्छ, र थप अरुमा संक्रमण फैलिन दिदैन ।

लकडाउन गरिएसँगै संक्रमण फैलन नदिन भइरहेको यो प्रयासलाई वडा १७ मा भने चुनौतीको सामना गर्नुपरिरहेको छ । रेल्वे क्षेत्रमा कसरी संक्रमण फैलियो ? संक्रमणको स्रोत को हो ? भन्ने अझै प्रष्ट भएको छैन । रेल्वेमा एक परिवारको सासु, बुहारी र नातिनीलाई संक्रमण भएको थियो । त्यसपछि, वडाअध्यक्षकै परिवारमा पनि संक्रमण देखियो । अध्यक्ष भट्टराईको रिपोर्ट भने नेगेटिभ आएको छ ।

वडाअध्यक्ष भट्टराईका अनुसार वडा कार्यालयले ४ जनाको टिम बनाएर संक्रमित परिवारहरुको ट्राभल हिष्ट्री लिने काम भइरहेको छ । यसले आज बेलुकासम्म संक्रमण कसरी फैलियो भन्ने प्रष्ट हुने उनले अपेक्षा व्यक्त गरे । ‘४ जनाको टिम बनाएका छौं, उहाँहरुले संक्रमित परिवारको हिष्ट्री लिइरहनु भएको छ,’अध्यक्ष भट्टराईले भने,‘भरै बेलुकासम्म केही न केही थाह हुन्छ ।’

मृतक परिवारसहित ३० जनाको स्वाब संकलन

swab 1

आज बिहान मृत्यु भएका धरान १७ रेल्वेका परिवारसहित ३० जनाको स्वाब संकलन गरिएको छ । मृतकको परिवार र क्लोज कन्ट्याकमा रहेका छरछिमेकीहरुसमेतको स्वाब संलकन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार १६ जना महिला र १४ जना पुरुषको स्वाब लिइएको छ ।