धरान: दुई दिनअघि राती साढे ७ बजे धरान ८, तीनकुनेस्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी वृद्धाको सनाखत भएको छ ।

मृतक वृद्धा मोरङको बेलबारी नगरपालिका वडा नं ७ की ८१ बर्षीया लक्ष्मीमाया तामाङ भएको खुलेको छ । मृतकको छोरा चन्द्रबहादुर तामाङ प्रहरी सम्पर्कमा आएर लाशको पहिचान गरेको र शव परिक्षण कार्य सकेर जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ‘छोरा सम्पर्कमा आएपछि सनाखत भयो, हामीले जिम्मा पनि लगाइसक्यौं,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने ।

डिएसपी बस्नेतका अनुसार मृतक महिला घरमा नबसेर आफु खुशी हिडिरहने स्वभावकी थिइन् । ‘उहाँ घरमा नबस्ने, आफुखुशी हिड्ने खालको हुनुहुदो रहेछ,’उनले भने । मंगलबार साँझ धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस अघि को.८ प ९३०२ नम्बरको मोटरसाइकलको ठक्करबाट वृद्धा गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकको सनाखत हुन नसकेपछि प्रहरीले मिडियालाई तस्बिरसहित जानकारी गराएपछि समाचार प्रकाशन भएको थियो । मिडियामार्फत जानकारी पाएपछि छोरा सम्पर्कमा आएको जानकारी दिदै ईलाका प्रहरी कार्यालयले समाचार प्रकाशनप्रति सबैलाई धन्वयाद पनि दिएको छ ।