धरान: कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि धरान उपमहानगरपालिकाको सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ ।
उपमहानगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेपछि ती शाखाहरुको सेवा प्रवाहित हुन पुगेको हो । संक्रमणकै कारण वडा नं १६ कार्यालय पनि ३ दिनदेखि बन्द छ भने आजदेखि वडा नं १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको छ । वडा नं १२ को कार्यालय पनि भोलीदेखि एक सातालाई बन्द हुने भएको छ । वडा नं ३ कार्यालयबारे भोली शुक्रबार निर्णय लिइने भएको छ ।
उपमहानगरपालिकामा प्रशासन महाशाखा, सुचना शाखा र घरनक्सा शाखाका कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती मशाखा तथा शाखाहरुको सेवा प्रभावित भएको हो । नयाँ भवनमा बसेर काम गर्ने योजनाका कर्मचारीलाई पनि संक्रमण देखिएको थियो । संक्रमण भएका कर्मचारी आइसोलेसनमा छन् भने नजिक सम्पर्कमा भएका अन्य कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन् । ‘प्रशासन, सुचना, घरनक्साका संक्रमण भएका साथीहरु आइसोलेसनमा छन्, र अरु होम क्वारेन्टिनमा छन् । त्यसैले सबै सेवा प्रवाह हुन सकेको छैन,’प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले भने,‘विगतमा भन्दा ५० प्रतिशत कर्मचारीहरु मात्र छौं ।’
वडा कार्यालयहरु पनि धमाधम बन्द हुदै
वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि संक्रमण देखिन थालेपछि धरानको वडा कार्यालयहरु पनि बन्द हुन थालेका छन् । वडा नं १६ को कार्यालय ३ दिनदेखि बन्द छ । वडामा कार्यरत इञ्जिनियरलाई संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलन नदिन सेवा बन्द गरिएको हो । थप एक कर्मचारी र सामाजिक परिचालिकालाई पनि संक्रमणको लक्षण देखिएकोले बन्द गरिएको अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।
यस्तै, वडा नं १५ आजदेखि एक साताको लागि बन्द गरिएको छ । हिजो वडाका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले आजदेखि कार्यालय बन्द गरिएको हो । यसैगरि, जनप्रतिनिधिलाई पनि संक्रमण देखिएपछि वडा नं १२ भोलीदेखि बन्द हुने भएको छ । वडा सदस्यलाई हिजो संक्रमण पुष्टि भएको थियो । ‘अर्को एक जना महिला वडा सदस्यलाई र कर्मचारीलाई पनि ज्वरो आएकोले भोलीदेखि एक सातालाई कार्यालय बन्द गरिन्छ,’वडा अध्यक्ष टंक राईले भने ।
यस्तै, हिजो वडा नं ३ का सदस्यलाई पनि संक्रमण देखिएको थियो । त्यहाँका २ कर्मचारी आज ज्वरो आएको भन्दै कार्यालय नआएको वडाअध्यक्ष आशाकुमार श्रेष्ठले बताए । ‘कर्मचारी नै नभएपछि के गर्ने ? भोलीसम्म हेछौं, नत्र हामी पनि कार्यालय बन्द गछौं,’उनले भने ।