धरान: धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

करिब ७० बर्षका वृद्धको आज बिहान घरमा नै मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतकको एक साताअघि वीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । यसअघि हिजो राती ११ बजे धरान २ का एक संक्रमितको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्युबारे प्रतिष्ठानले औपचारिक जानकारी भने आज बिहान मात्र दिएको हो ।

वडाअध्यक्ष इवारमका अनुसार मृतक श्रीमतिसहित बेलायतबाट छोराका बर्खान्तको लागि घर आएका थिए । सबै काम सकेर उनी बेलायत फर्कने तयारीमा रहदा संक्रमण देखिएपछि घरमा नै आइसोलेसनमा बसेका थिए । ‘आज बिहानै घरमा नै मृत्यु भएको जानकारी आयो, अहिले सेनाको टोलीले प्रोटोकल अनुसार शव लैजाने तयारीमा छ,’अध्यक्ष इवारमले भने ।