इटहरीः इटहरीमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न शुरू गरेको छ ।

हिजो मास्क नलगाउनेलाइ जरिवाना मात्र गराएको प्रहरीले आज मास्क नलगाउने व्यक्तीलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन र इटहरी उपमहानगरपालिकाको संयोजनमा बढि भिडभाडयुक्त स्थानमा भेटिएका व्यक्तीलाई पक्राउ गर्दै इटहरीको बुढी खोला छेउमा रहेको प्राचि भवनमा लगिएको छ । पहिलो दिन थोरै मात्र व्यक्तीलाई पक्राउ गरेको प्रहरीले हरेक दिन मास्क नलगाउने व्यक्तिलाई पक्राउ गर्ने बताएको छ ।

पक्राउ परेकालाइ साँझ छाडिने प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । आज पहिलो दिन धरानलाइनस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडीबाट प्रहरीले मास्क नलगाउने व्यक्तीलाई पक्राउ गरेको थियो भने भोली कुनै अर्को स्थानमा अनुगमन गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुगमन अधिकृत त्रिलोचन न्यौपानेले बजारमा सर्वसाधारणको हेलचेक्याइ बढेको बताए । अघिल्लो दिन मास्क नलगाउनेलाइ एक सय रूपैयाँ जरिवाना गरिएपनि भोलीपल्ट अर्थात बुधवार बजारमा उस्तै हेलचेक्रयाइ देखिएको बताए । उनले जिल्ला सिसिएमसीको बैठकले बजार अनुगमनलाइ कडा पार्ने योजना अनुरूप यस्ता अनुगमनलाई निरन्तरता दिने बताए ।

दिनहुँ प्रशासनले अनुगमन गरेपनि बीना मास्क हेलचेक्राइपुर्ण तरिकाले किनमेलमा सामेल भइरहेको उपभोक्ता र विक्रेताले जोखिम बढाइरहेको प्रशासनको ठहर छ । सुनसरीमा हालसम्म ३ हजार बढि सँक्रमित फेला परेका छन् भने १५ सय बढि कोरोनामुक्त भइसकेका छन् । सुनसरीमा हालसम्म ३५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । पछिल्लो दिनमा सुनसरी सदरमुकाम इनरुवा, इटहरी र धरानमा कोरोना सँक्रमण समुदाय तहमा फैलिइसकेको छ भने दिनहुँ दर्जनौँ सँक्रमित फेला परेका छन् ।