धरान: होम आइसोलेसनबाट थप उपचारको लागि विराटनगर लगिएका धरान १५ का एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
हिजो बुधबार राती करिब ११ बजेतिर विराटनगरमा मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार ६८ बर्षीय मृतकलाई ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए पछि उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । हिजो दिउँसो सास फेर्न गाह्रो भएपछि दिउँसो साढे ४ बजेतिर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
वीपी प्रतिष्ठानमा भेन्टिलेटर बेड नपाएपछि उनलाई विराटनगर लगिएको अध्यक्ष इवारमले जानकारी दिए । ‘वीपीमा बेड नपाएपछि विराटनगर लगिएको थियो, राती उतै बित्नुभएछ,’उनले भने । विपीमा बेड नपाएपछि उनलाई कोशी कोभिड उपचार केन्द्रमा लगिएको थियो । उनको सोही उपचार केन्द्रमा मृत्यु भएको हो ।