आश्विन शुक्ल सप्तमी शारदीय नवरात्रोत्सवको सातौं दिन हो। यस दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ।पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रातकी अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनेको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ।
नवदुर्गाकी सातौं शक्ति कालरात्रिको विग्रह भयानक मानिएको छ। यिनी कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ। यिनी लामालामा केश फिँजेकी, ठुलाठुला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठुलाठुला दाँत भएकी घोररूपा छिन्। यिनका ओठ लाली लगाएजस्ता प्राकृतिक रूपमै राता छन्। यिनका आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ। यिनी वस्त्रहीन छिन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ।
कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन्। यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। यिनको वाहन गधा हो। यिनी तमोगुण प्रधान देवी मानिएकी छिन्।
आधाशक्ति जगज्जननीले आसुरी शक्तिलाई परास्त गर्नका लागि कालरात्रिको विग्रह धारण गरेकी हुन्। यिनको स्मरण मात्रले पनि दैत्य, दानव, भूत, प्रेत, पिचास आदि दानवी शक्ति भयभीत हुन्छन्। भक्तका लागि भने यिनी शुभफलदायिनी देवी हुन्। यिनले भक्तका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता नकारात्मक प्रवृत्तिको नाश गरिदिन्छिन्। ग्रहबाधा, शत्रुबाधा, भूतप्रेत आदिको बाधाबाट आफ्ना उपासकलाई सधैं संरक्षण गर्ने भक्तवत्सला कालरात्रिको उपासनाबाट आत्मबल, अभय र आन्तरिक ऊर्जा प्राप्त हुन्छ।
पूजाविधि
नवरात्रका अरू दिनहरूमा जस्तै सातौं दिन कालरात्रिको पूजा हुन्छ। कालरात्रिलाई अरू मन्त्रका अतिरिक्त ॐ कालराœयै नमः भनेर पूजा गर्न सकिन्छ। कालरात्रिको पूजा गर्दा उनको वाहन गधा र उनका शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ।
सरस्वती र भद्रकालीको पूजा
नवरात्रको सातौं दिनमा सरस्वतीको पनि पूजा हुन्छ। सरस्वती पूजा अरू दिन गरिने सबै कर्म सकेपछि गर्न पनि सकिन्छ। कालरात्रिको पूजापछि त्यहीँ पनि गर्न सकिन्छ। सरस्वती पूजा गर्दा पुस्तक, कलम, कापी, मसी, रुद्राक्षको माला, वाद्ययन्त्रहरू छन् भने तीसमेत ल्याएर उपयुक्त स्थानमा राखेर तिनको पनि पूजा गर्नुपर्छ। सरस्वतीलाई अरू मन्त्रका अतिरिक्त ॐ सरस्वत्यै नमः भनेर पूजा गर्न सकिन्छ।
सप्तमीका दिन भद्रकालीको पनि पूजा हुन्छ। कालरात्रिको पूजा गरेकै स्थानमा भद्रकालीको पनि पूजा गरिन्छ। भद्रकालीलाई ॐ भद्रकाल्यै नमः भनेर पूजा गर्न सकिन्छ। भद्रकालीको पूजा गरेपछि यिनलाई कुभिन्डाको बलि दिनु उत्तम हुन्छ।
नवपत्रिका-प्रवेश
आश्विन शुक्ल सप्तमीको अपराह्नमा दुर्गापूजाको अंगका रूपमा नवपत्रिका(प्रवेशको काम हुन्छ। यसलाई फूलपाती भन्ने चलन छ। नेपालका शक्तिपीठहरूमा र सार्वजनिक देवीमन्दिरहरूमा दसैंघर अर्थात् घटस्थापना गरी दुर्गापूजा गरेको स्थानमा बाजागाजासहित धूमधामसँग फूलपाती भित्र्याइने हुनाले यसलाई दसैंको महत्त्वपूर्ण दिन मानिन्छ। काठमाडौंमा गोरखाबाट ल्याएको फूलपाती जमलमा ल्याई बाँकी विधि पुर्याएर हनुमानढोकास्थित दसैंघरमा भित्र्याउने चलन छ। फूलपाती भित्र्याउने रीति फरकफरक भए पनि दुर्गापूजा गर्ने सबै सनातनी समाजमा यसको महत्त्व रहेको छ।
नौ थरी वनस्पतिका पालुवालाई नवपत्रिका भनिन्छ। सनातन परम्परामा वनस्पतिहरूलाई पनि देवताको रूप मानेर पूजा गर्ने गरेको कुरा तुलसी, पीपल, वर आदिको पूजा गर्ने चलनबाट थाहा हुन्छ। नवरात्रको सप्तमी तिथिमा दुर्गा पूजा गरेको स्थानमा यस्तै नौ थरी वनस्पति ल्याउने र तिनलाई देवीको रूप मानेर पूजा गर्ने विधि नै नवपत्रिका प्रवेश हो।
नवपत्रिकाका सम्बन्धमा बंगाली समाजमा रमाइलो मान्यता पाइन्छ। उनीहरूका अनुसार कलाबाऊ नामकी देवी गणेशकी पत्नी हुन्। सप्तमीका दिन नवपत्रिका भित्र्याउनु भनेको पार्वती/दुर्गाको पूजा भइरहेको ठाउँमा कलाबाऊलाई नववधूका रूपमा भित्र्याउनु हो। त्यसैले नवपत्रिकालाई बाजागाजासहित धूमधामसँग भित्र्याउनुपर्छ।