इटहरी: आज विजयादशमी अर्थात दशैंको टीका । नेपालीहरुको लागि ठुलो चाड ।
आफ्ना मान्यजनहरुको हातबाट टीका, जमारा लगाएर आर्शिवाद ग्रहण गर्ने यो चाड यसपाली कोरोना महामारीको कारण खल्लो अनुभूति भइरहेको छ । संक्रमण फैलने डरले घरमा मात्र सिमित भएको टीका झन् कोरोना पोजेटिभ भएर परिवारभन्दा टाढा आइसोलेसनमा बसेकाहरुलाई कस्तो होला ? इटहरीमा भने आइसोलेसनमा रहेका संक्रमितहरुले सोमबार संयुक्तरुपमा दशैको टीका लगाएका छन् ।
इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वराल टीका, जमरा र मीठाई लिएर आइसोलेसन पुगेका थिए । आइसोलेसनमा रहेकी ७८ वर्षिया वृद्धाले सवै संक्रमितहरुलाई टिका लगाइदिएकी थिइन् । उनले अवदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्दै आर्शिवाद तथा कामना पनि गरेकी थिइन् ।
कोरोना संक्रमित भएर परिवारबाट छुट्टीएर वस्नुपर्दा नराम्रो लागिरहेको वेला टीका, जमरा र आर्शिवाद पाउदा ज्यादै खुशी लागेको संक्रमितहरुले प्रतिक्रिया दिए । दशै जस्तो चाडको वेला आइसोलेसनमा बस्नुपर्दा संक्रमितहरुको मनमा दुःख नहोस् भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका, जमरा लिएर गएको उपमेयर गौतमले बताइन् । इटहरीको आइसोलेसनमा २१ जना संक्रमित छन् ।