धरान: होम आइसोलेसनमा बसेका धरान १० का एक कोरोना संक्रमितको आज बुधबार दिउँसो मृत्यु भएको छ ।

करिब ४८ बर्षीय पुरुषको आफ्नै घरमा लडेर मृत्यु भएको बताइएको छ । वडा नं १० का अध्यक्ष श्रीप्रसाद सुब्बाका अनुसार बाथरुम गएर फर्कने क्रममा लडेको र स्वास्थ्यकर्मीलाई घरमा नै बोलाएर जाँच गराउदा मृत्यु भइसकेको पुष्टि गरेको जानकारी परिवारले गराएको थियो । ‘ज्यादै दुःखद घटना भयो । बाथरुमबाट फर्कदा लडेछन्, र घरमा नै मृत्यु भयो,’वडाअध्यक्ष सुब्बाले भने ।

यो घटना करिब साढे १२ बजे तिरको हो । मृतक झण्डै २ सातादेखि विरामी भएर घरमा नै बसिरहेका थिए । उनको पिसिआर रिपोर्ट आज मात्र पोजेटिभ आएको थियो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार घटनाबारे जानकारी पाएपछि संक्रमितलाई लिन एम्बुलेन्स घरमा पठाइएको थियो । तर, अस्पताल लैजान नपाउदै घरमा नै मृत्यु भइसकेको जानकारी पाएको उनले बताए । ‘मृतकको शव नेपाली सेनाको टोलीले नियम अनुसार व्यवस्थापन गरिसकेको छ,’उनले भने । योसँगै धरानमा मृत्यु हुनेहरुको संख्या ४५ जना पुगेको छ ।