धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सककले कोभिड १९ अस्पतालमा स्वास्थ्यकर्मीहरुको डेडिकेटेड टिम आवश्यक भएको बताएका छन् ।

प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा.रोशन कलवरले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै कोभिड अस्पतालमा डेडिकेटेड टिमको अभाव महसुस भइरहेको टिप्पणी गरेका छन् । उनले डेडिकेटेड टिमको अभावमा नमर्नुपर्ने विरामीले ज्यान गुमाएको अनुभव आफुलाई भइरहेको उल्लेख गरेका छन् । ‘डेडिकेटेड हेल्थ वर्करबाट साधारण उपचार तथा जीवन समर्थन पाएमा केही दिनमा आफै निको हुन्छ,’डा.कलवरले टिप्पणीमा भनेका छन्,‘मलाई कोभिड १९ अस्पतालमा डेडिकेटेड टिमको कमीको आभास हुदैछ ।’

डा.कलवरले कोभिड अस्पतालमा भइरहेको मृत्युको लेखाजोखा, अडिट, छानबिन गर्न जरुरी रहेको भन्दै हाडजोर्नी, छाला, मनरोग, दन्तरोगलगायत असम्बन्धित विभागको डाक्टर र नर्सलाई रोटेशनमा कोभिड ड्युटीमा राखेर धनजनको क्षति मात्र पाउने उनको धारणा छ । ‘कमसे कम कोभिडको डेडिकेटेड टिम बनाउ, आवश्यक ओरिन्टेसन, ट्रेनिङ दिउ र धनजनको क्षति हुनबाट बचाउन सरोकारवाला र पदाधिकारीहरुलाई सादर अनुरोध गर्दछु,’डा.कलवरको सुझाव छ । प्रतिष्ठानमा हालसम्म ७९ जना संक्रमितहरुको उपचारको क्रममा मृत्यु भइसकेको छ । वीपीको कोभिड अस्पतालको राम्रो व्यवस्थापन हुन नसकेको बिषयमा चौतर्फी आलोचना र विरोध भइरहेकै छ ।

roshan,. 1