धरान: मोरङको केराबारी गाउँपालिका ६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

बिशेष सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ साढे ५ बजे छावा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा केराबारी ६ मा कालिज फर्म सञ्चालक रहेका धरान ६ का ६० बर्षीय भुपेन्द्र भट्टराई र ४३ बर्षीय बोधराज मगर रहेका छन् । यस्तै, धरान १५ का ३६ बर्षीय अरुण केसी, धरान ६ का ३६ बर्षीय हरि खत्री र धरान १५ का ३८ बर्षीय शैलेस भुजेल रहेका छन् ।

उनीहरुलाई केराबारी ६ स्थित भुपेन्द्र भट्टराईको कालिज फर्मबाट पक्राउ गरेको हो । भट्टराई २०७४ सालको स्थानीय तह निर्वाचनमा धरान वडा नं ६ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट पराजित उम्मेदवार पनि हुन् । उनले करिब डेढ बर्षदेखि केराबारीमा कालिज फर्म पनि सञ्चालन गरिरहेका थिए । तर, फर्ममा लकडाउनको समयदेखि जुवा तास खेलाईरहेको थियो ।

जुवाडेहरुको साथबाट ८ लाख ८९ हजार २ सय ५० रुपैया पनि वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुको साथबाट १३ बुक तास पनि भेटिएको छ । साथै, २ थान स्कुटी र २ थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

juwa-tas-kera