धरान: धरानमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पुष्टि भएकामध्ये ७ जना एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा स्वाब लिएकाहरुका हुन् भने अन्य सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिएकाहरुको रिपोर्ट पोजेटिभ आएको धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार योसँगै संक्रमितहरुको कुल संख्या २९३१ पुगेको छ ।
सक्रिय संक्रमितभन्दा बढी डिस्चार्ज
हिजो आइतबारसम्मको तथ्यांक अनुसार धरानमा सक्रिय संक्रमितहरुभन्दा डिस्चार्ज हुनेको संख्या बढी छ । हिजोसम्मको विवरण अनुसार धरानमा होम आइसोलेसनमा १०३१ जना संक्रमितहरु रहेका छन् भने अस्पताल र होम आइसोलेसनबाट निको भएर डिस्चार्ज हुनेहरुको संख्या १७७१ जना रहेको छ । आज पनि थप डिस्चार्ज भएकोले यो संख्या अझ बढी रहेको स्वास्थ्य महाशाखाको भनाई छ । धरानमा हालसम्म ५९ जना संक्रमितको मृत्यु भएको विवरण छ ।
वीपीको माइक्रोबायोलोजी विभागलाई स्वास्थ्य सामग्री सहयोग
धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभागलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
महाशाखाका अनुसार सर्जिकल मास्क ५ सय थिान, फेस सिल्ड ३० थान, सर्जिकल ग्लोब्स ५ सय जोडी, ह्याण्ड सेनिटाइजर १० लिटर पठाइएको छ । यस्तै, हेड क्याप ५ सय थान, डिस्पोजल ग्लोब्स २५० जोडी र ह्याण्ड वास १० जोडी पठाइएको महाशाखा प्रमुख मेहताले जानकारी दिए ।