धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।
रेडियोलोजी विभागका रेडियोग्राफरको हिजो साँझ कोरोना संक्रमणबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै आन्दोलित विभागका कर्मचारीहरुसँग प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारले चरणवद्ध छलफल गरेका थिए । सो छलफलमा अस्पताल निर्देशक डा.गौरीशंकर साह र रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पिपिई, मास्क, ग्लोब्सलगायत सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । तर, कर्मचारीहरुले भने सामग्री उपलब्ध हुनुपर्ने र कर्मचारीहरुको लागि आइसियुको पनि रिजर्ब राखिनुपर्ने अडान गरेका छन् ।
आन्दोलन कर्मचारी र पदाधिकारीबीच मौखिक छलफल भएको थियो । अहिले कर्मचारीहरुले लिखितरुपमा नै माग पत्र पेश गर्ने तयारी गरिरहेका छन् । ‘मौखिकरुपमा तपाईहरुलाई चाहिने सामानहरु पुरा गरिदिन्छौं भन्नुभयो, तर हामीले लिखितरुपमा मागहरु दिन लागेका छौं,’एक कर्मचारीले भने,‘हामी आज काममा फर्किएका छैनौं । हाम्रो सहकर्मी आइसियु नपाएर ज्यान गुमाउनुपरेको भन्ने भइसक्यो, स्टाफहरुको लागि व्यवस्था हुनुपर्छ ।’ उनका अनुसार आज रेडियोलोजी र सेन्ट्रल ल्याबको काम रोकिएको छ ।
रेडियोलोजीको टेक्निकल इञ्चार्ज मुकेश झाले स्टोरबाट माग वमोजिमको सामानहरु आयो भने मात्र काम गर्ने भनेर कर्मचारीहरुले अडान लिएकोले आज काम नभएको बताए । ‘आज ३ बजे श्रद्धाञ्जली कार्यक्रम राखिएकोले स्टोर बन्द भइहाल्यो । भोली माग भए अनुसार सामानहरु आयो भने मात्र काम गर्ने भनेर स्टाफहरुले भनिरहेको छ,’झाले भने ।
यता, प्रतिष्ठानका अस्पताल निर्देशक डा.साहले भने कर्मचारीहरु आन्दोलित भएको तर पछि सम्झाई बुझाई पठाएको दाबी गरे । ‘दुःखद घटना भएको छ, तर हामीले सम्झाई बुझाई काममा फर्कायौं,’अस्पताल निर्देशक डा.साहले भने,‘रजिष्ट्रार र मैले सम्झायौं, काम शुरु पनि भएको छ । आइसियु कर्मचारीलाई मात्र छुट्याउन गाह्रो छ । हाम्रो लागि सबै बराबर हो ।’