धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर पंकज यादवको उपचारमा ढिलाई भएर मृत्यु भएको भन्दै प्राविधिक कर्मचारीहरुले छानबिनको माग गरेका छन् ।
सोमबार साँझ प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएपछि यादवको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । तर, अघिल्लो दिन आइतबार प्रतिष्ठानमै गरिएको पिसिआर जाँचको रिपोर्ट भने नेगेटिभ आएको थियो । यादवको मृत्यु पछि आज(मंगलबार) प्रतिष्ठानको रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत प्राविधिक कर्मचारीहरुले सेवा ठप्प बनाउदै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले मंगलबार साँझ जिओपिडी भवनअघि स्वर्गीय रेडियोग्राफर यादवप्रति श्रद्धाञ्जली कार्यक्रम राख्दै उनको उपचारमा ढिलाई भएर मृत्युको कारण छानबिन गर्न माग गरेका हुन् ।
यसैगरि, आन्दोलनरत प्राविधिक कर्मचारीहरुले यादवको आश्रित परिवारलाई रोजगारीको तत्काल सुनिश्चत गर्न पनि आन्दोलनतर प्राविधिक कर्मचारीहरुले माग गरेका छन् । नेपाल सरकार तथा प्रदेश सरकारबाट उपलब्ध हुने विमा सुविधा तत्काल उपलब्ध गराउन माग गरेका छन् भने कर्मचारीहरुको लागि आई.सि.यु.को छुट्टै व्यवस्था गर्न पनि माग गरेका छन् । यस्तै, कार्यक्षेत्रमा खटिइने कर्मचारीहरुलाई पिपिई, मास्क, ग्लोब्सलगायत आवश्यक सामग्रीहरु उपलब्ध गराउन, कोभिड अस्पतालको लागि अलग्गै ल्याब, ओ.टी. र एक्स रे प्राविधिक कर्मचारीहरुको विज्ञापन गर्न पनि आन्दोलनरत कर्मचारीहरुले माग गरेका छन् ।
प्रतिष्ठानका उपकुलपतिलाई बुझाइएको ज्ञापन पत्रमा प्राविधिक कर्मचारीहरुले कोरोना संक्रमण भएर मृत्यु भएका रेडियोग्राफर यादवसँगै छात्रावास प्रशासन शाखामा कार्यरत जुनियर फोरम्यान चन्द्रकुमारी श्रेष्ठलाई पनि कोरोना योद्धा घोषणा गर्न माग गरेका छन् । श्रेष्ठको पनि कार्तिक ६ गते ५६ बर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
स्वर्गीय श्रेष्ठलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
कोरोना संक्रमणले मृत्यु भएकी प्रतिष्ठानको छात्रावास प्रशासन शाखामा कार्यरत जुनियर फोरम्यान चन्द्राकुमारी श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दिउँसो प्रतिष्ठानको उपकुलपति कार्यलय अघि औपचारिक कार्यक्रमको आयोजना गरि मृतक श्रेष्ठलाई श्रद्धान्जलि दिइएको हो । प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी लगायत विभिन्न विभाग, शाखा प्रमुख, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली पश्चात इर्मजेन्सी र अन्तरंग सेवा बाहेक प्रतिष्ठानका सबै शैक्षिक तथा प्रशासनिक कार्यलयलाई शोक विदा दिइएको थियो । श्रेष्ठको २०७७ कार्तिक ६ गते बिहीबारका दिन ५६ वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हेल्पर पदमा करारमा काम सुरू गरेकी श्रेष्ठ स्थायी जुनियर फोरम्यानका रूपमा कार्यरत थिइन् ।
भिडियो :