धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना धरान १२ की ७८ बर्षीया महिला छिन् भने अर्का उदयपुरको कटारीका १४ बर्षीय बालक छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १२ की ७८ बर्षीया वृद्धाको हिजो राती ११ बजे मृत्यु भएको थियो । मानसिक समस्या भएकी ती महिलालाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई हिजो नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले बताए ।

यस्तै, उदयपुरको कटारी नगरपालिकाका १४ बर्षीय बालकको पनि उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको छ । नोबेल अस्पतालबाट रिफर भएर आएका ती बालकलाई प्रतिष्ठानमा कार्तिक १६ गते भर्ना गरिएको थियो । उनलाई कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए ।