धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार बराहक्षेत्र ५ की १९ बर्षीया सुत्केरीको मृत्यु भएको हो । उनी हिजो प्रतिष्ठानमा भर्ना हुँदा पाँचौं दिनको सुत्केरी अवस्थामा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनी प्रतिष्ठानमा डेलिभरी भए नभएको भने प्रष्ट नभएको सहप्रवक्ता डा.श्रेष्ठले बताए । प्रतिष्ठानका अनुसार आज बिहान ४ बजेर ३० मिनेटमा युवतीको मृत्यु भएको थियो । मृतकलाई हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको पनि सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।