धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाको भेडेटार र सुनसरीको बराहक्षेत्रको गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार साँगुरीगढी ८, भेडेटार धनकुटाका ७२ बर्षीय बृद्धको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हिजो राती साढे १० बजे मृत्यु भएको थियो । उनलाई कार्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको रिपोर्ट भने आज मृत्यु पछि पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, सुनसरीको बराहक्षेत्र ३ की ४४ बर्षीया महिलाको पनि प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । जटिल खालको मृगौला रोगी भएकी महिलाको आज बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएकोछ । उनी आजै कोभिड अस्पतालमा भर्ना भएका थिए भने रिपोर्ट पनि आज नै पोजेटिभ आएको थियो । दुवैको शव नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।