भोजपुर: भोजपुर जिल्लामा पनि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछास्थित कमेरे पानीकी २८ बर्षीया युवतीको हिजो दिउँसा ३ बजे मृत्यु भएको नगर प्रमुख वीरवल राईले जानकारी दिए । उनका अनुसार मृतकको शवलाई व्यवस्थापनको लागि जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी र नेपाली सेनाको टोली आइसकेको छ । ‘सिडिओ सर र सेनाको टोली आइसकेको छ, शवलाई प्रोटोकल अनुसार व्यवस्थापन गर्ने तयारी भइरहेको छ,’नगर प्रमुख राईले भने ।

भोजपुरमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । नगर प्रमुख राईका अनुसार मृतक युवती पाठेघर एवं रक्तस्रावको समस्या भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराना उपचार गराउन गएकी थिइन् । सोही क्रममा उनको वीपी प्रतिष्ठानमा नै पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि घरमा नै आइसोलेसनमा बस्ने भनेर उनी फर्किएकी थिइन् । तर, उनी संक्रमित भएकोबारे नगरपालिकालाई जानकारी दिइएको थिएन । हिजो उनको मृत्यु भएपछि मात्र अहेब पनि रहेका एक आफन्तले कोभिडको लक्षण देखिएको भनेर वीपी प्रतिष्ठानमा सम्पर्क गरेर बुझ्दा रिपोर्ट पोजेटिभ भएको नगरपालिकाले थाह पाएको नगरप्रमुख राईले बताए ।